खानेपानीको न्यूनतम मापदण्डबारे उपभोक्तालाई सचेत पारिँदै   
खानेपानीको न्यूनतम मापदण्डबारे उपभोक्तालाई सचेत पारिँदै   
    • Bell Sanchar

    • १५ माघ २०८०, सोमबार

कञ्चनपुर

खानेपानीको गुणस्तरबारे उपभोक्तालाई सचेत पार्नका लागि यहाँ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले अभिमुखीकरण कार्यक्रमको आयोजना गरी उपभोक्तालाई राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड विसं २०७९ र खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिकाका प्रावधानबारे उपभोक्तालाई जानकारी गराउन थालेको हो ।

निर्देशनालयले दुई पालिका दोधारा चाँदनी र शुक्लाफाँटा नगरपालिकामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी गुणस्तरीय पानीका न्यूनतम मापदण्डबारे जानकारी गराएको छ । अन्य पालिकामा पनि कार्यक्रमको आयोजना गरी खानेपानीको गुणस्तरबारे उपभोक्ता र पदाधिकारीलाई जानकारी गराउने कार्यक्रम रहेको निर्देशनालयका स्रोत व्यक्ति हेमराज जोशीले बताउनुभयो ।

“खानेपानीको गुणस्तरबारे जलस्रोत ऐन, २०४९ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी खानेपानीको न्यूनतम मापदण्ड तोकेको छ”, जोशीले भन्नुभयो, “ऐनमा दुई सय २८ वटा मापदण्ड निर्धारण गरिएको भए पनि अनिवार्यरुपमा १९ मापदण्ड जाँच गरेरमात्र उपभोक्तालाई खानेपानी उपलब्ध गराउनुपर्ने हुन्छ ।” राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा सो कुरा प्रष्टसँग उल्लेख भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ को दफा १२ बमोजिम खानेपानी गुणस्तर निगरानीको जिम्मा सङ्घको हकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेशको हकमा प्रदेशको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयलाइ जिम्मेवारी दिने भनी स्पष्टरुपमा उल्लेख गरिएको छ ।

निर्देशिकाको यही अधिकार प्रयोग गरी सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालय र हरेक जिल्लामा स्वास्थ्य कार्यालयमा स्थापना गरिएका खानेपानी गुणस्तर प्रयोगशालाबाट विगत तीन वर्षयता निरन्तररुपमा खानेपानीको गुणस्तर जाँच हँुदै आइरहेको कार्यक्रम जोशीले राससलाई जानकारी दिनुभयो ।

“स्वास्थ्य निर्देशनालयसँगै स्वास्थ्य कार्यालयले खानेपानीमा मानव स्वास्थ्यमा हानि पु¥याउने तत्वबारे जाँचको कार्य गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “खानेपानी गुणस्तर जाँचका लागि स्थापना गरिएको प्रयोगशालाबाट पानीमा पाइने झाडापखाला गराउने किटाणु इ–कोलिसहित पानीको धमिलोपन, पानीमा रहेको क्लोरिन अवशेष, हाइड्रोजन विभाव, विद्युतीय सम्वाहकतासहित कूल पाँच वटा पारोमिटर निःशुल्करुपमा जाँच हुँदै आइरहेको छ ।”

जाँचका क्रममा विभिन्न स्थानको पानीको नमुना गर्दा झाडापखाला गराउने किटाणु इ–कोलि पाइएको उहाँले बताउनुभयो । खानेपानीमा न्यूनतमरुपमा रहनुपर्ने क्लोरिन अवशेष नरहेको पाइएकाले दोधारा चाँदनी र शुक्लाफाँटा नगरपालिकाका खानेपानी उपभोक्ता समितिका पदाधिकारी, स्वास्थ्यकर्मी र सरोकारवाला निकायलाई अभिमुखीकरण कार्यक्रममार्फत सचेत गरिएको उहाँको भनाइ छ ।

शुक्लाफाँटाको वडा नं २ को निर्माणाधीन वैजनाथ खानेपानी आयोजनाका दुवै बोरिङको नमुना जाँच गर्दा झाडापखाला गराउने किटाणु इ–कोलि नभेटिए पनि न्यूनतमरुपमा रहनुपर्ने क्लोरिन अवशेष शून्यमात्रामा भेटिएको खानेपानी गुणस्तर प्रयोगशाला स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट लीलाधर जोशीले बताउनुभयो ।

उहाँका अनुसार सोही नगरपालिकाको वडा नं ३ को आधारभूत स्वास्थ्य केन्द्रमा आपूर्ति भएको पानीको नमुना वडा नं २ को वडा कार्यालय भवन, वडा नं ३ को वडा कार्यालय भवन, वडा नं १ को वडा कार्यालय भवनलगायतको पानीको नमुना जाँच गर्दा क्लोरिन अवशेष शून्य दशमलव २ देखि शून्य दशमलव पाँच एमजी÷एल हुनुपर्नेमा क्लोरिन अवशेष शून्य फेला परेको छ ।

खानेपानी आपूर्ति गर्ने उपभोक्ता समिति, स्वास्थ्यकर्मी र आमसरोकारवालाको पानीको गुणस्तर निगरानीसम्बन्धी क्षमता बढाउनका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित