टीकापुरमा फोहर बहान भित्रिएपछि नगर सफा   
     टीकापुरमा फोहर बहान भित्रिएपछि नगर सफा   
    • Bell Sanchar

    • ३ बैशाख २०८१, सोमबार

टीकापुर ,

कैलालीको टीकापुरमा फोहर बहान भित्रिएपछि आजभोलि बजार क्षेत्र सफा देखिन थालेको छ । फोहर बहान भित्रिएसँगै पालिकाले दैनिक फोहर सङ्कलनलाई तीव्रता दिएपछि नगर सफा देखिन थालेको स्थानीय बताउँछन् ।

नगरपालिकाले एकाबिहानै सरसफाइसम्बन्धी सन्देश बजाउँदै बजार क्षेत्रमा फोहर सङ्कलन गर्ने गरेको छ । नगरपालिकाको फोहर बहान फोहर बोक्न आउँदा ‘सरसफाइ गरौँ’ भन्ने सन्देशमूलक गीत बजाउँदै आउने गरेको स्थानीय गणेश चौधरीले बताउनुभयो । टीकापुर बजार क्षेत्रमा दैनिक पाँच ट्राली फोहर सङ्कलन हुने गरेको छ ।

फोहर सङ्कलनका लागि नगरपालिकामा नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत गत वर्ष नै ‘गारबेज कम्प्याक्टर मेसिन’ (फोहर बोक्ने मेसिनसहितको बहान) समेत प्राप्त भएको छ । उक्त मेसिन सुदूरपश्चिममै ठूलो रहेको नगरपालिका कार्यालयले जनाएको छ । पालिकाभित्र फोहर सङ्कलन गर्न दुई वटा ट्राली र एउटा फोहर बहान दैनिक प्रयोग हुने गरेको छ । साथै १४ जना सरसफाइकर्मी दैनिक सरसफाइमा जुट्ने गरेका छन् ।

“बिहान ५ बजेदेखि सरसफाइ सुरु गर्छौँ, नगरवासीले डस्टविन (फोहर फाल्ने भाडो)मा फोहर राखिदिएमा सहज हुने थियो”, सरसफाइकर्मी कालुराम डगौँरा थारुले भन्नुभयो, “फरकफरक खालका फोहर फरक भाँडोमा राखिदिएमा हामीलाई सजिलो हुने थियो । नगरवासीले सबैखाले फोहर एउटै डस्टविनमा राख्ने गर्नुहुन्छ ।”

विगतमा बजार क्षेत्रमा मात्र सरसफाइ गरिने गरिएको थियो । हाल सेवा विस्तार गरी वडा नं १ का केही ब्लक, वडा नं ५ को टीकापुर पार्क रोड, वडा नं २, वडा नं ३ का बजार क्षेत्रमा समेत सरसफाइ गर्न थालिएको डगौँराले जानकारी दिनुभयो ।

सरसफाइकर्मी सञ्जु कुश्मीले हरेक दिन बिहान ६ घण्टा सरसफाइमा खट्ने गरेको बताउनुभयो । “सरसफाइ गर्दा चोटपटक लाग्ने, कहिलेकाहीँ सुई (सिरिन्ज), सिसाले काट्ने डर हुन्छ”, उहाँले भन्नुभयो, “फोहरमा काम गर्दा विभिन्न रोग लाग्ने, चोटपटक लाग्ने भएकाले पालिकाले स्वास्थ्य बीमा गरिदिनुपर्ने माग गरिरहेका छौँ ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्द्धन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ जारी गरी देशका विभिन्न पालिकामा उक्त कार्यक्रम लागू गरेको हो । पहिलो वर्ष टीकापुरसहित सुदूरपश्चिमका चार पालिका छनोटमा परेका छन् । टीकापुरमा फोहर व्यवस्थापन र गौशालामा ग्यास उत्पादनमा लगानी गरिएको नगरपालिकाका इञ्जिनियर नवराज जोशीले बताउनुभयो ।

“हामीले नवप्रवर्द्धन कार्यक्रममार्फत प्रदेश सरकार र स्थानीय तह मिलेर सरसफाइका क्षेत्रमा लगानी ग¥यौँ”, उहाँले भन्नुभयो, “नगर सफा राख्न र वडा नं २ मा रहेको गौशाला व्यवस्थापन, गोबरबाट ग्यास उत्पादन, गोबर मल उत्पादनमा समेत लगानी गरेका छौँ ।”

नवीनतम सोच, अवधारणा, लगानीको ढाँचा र प्रविधिका माध्यमबाट फरक तरिकाले उद्यमशीलता, सीप विकास, वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा यस कार्यक्रमले सहयोग गर्ने इन्जिनियर जोशीको भनाइ छ ।

नगरपालिकालाई फोहर सङ्कलनमा समस्या नभएको भन्दै व्यवस्थापन तथा फोहर फाल्ने ठाउँको केही समस्या रहेको नगरपालिकाका सरसफाइ उपशाखा प्रमुख लोकबहादुर बुढाले बताउनुभयो । हाल अस्थायीरुपमा फोहर व्यवस्थापन गरिँदै आएको उहाँको भनाइ छ ।

कार्यपालिकाले टीकापुर नर्सरीको १० कठ्ठा जमिनमा ल्याण्डफिलसाइट बनाउने निर्णयसँगै बजेट व्यवस्था गरेकाले केही सहज हुने बुढाले बताउनुभयो । “अहिलेसम्म सङ्कलित फोहर व्यवस्थापनमा समस्या छ”, उहाँले भन्नुभयो, “केही दिनअघिको कार्यपालिका बैठकले ठाउँ र बजेट व्यवस्था गरेको छ । अब फोहर व्यवस्थापनमासमेत सहज हुनेछ ।”

साताकाे चर्चित
सम्बन्धित