राष्ट्रिय शक्तिबीच एकता आवश्यक : अध्यक्ष केपी ओली   
     राष्ट्रिय शक्तिबीच एकता आवश्यक : अध्यक्ष केपी ओली   
    • Bell Sanchar

    • ३ बैशाख २०८१, सोमबार

काठमाडौँ, 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकुलाई सुशासन र समृद्धिको बाटोतर्फ लैजान राष्ट्रिय शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको सो पार्टीको संसदीय दलको बैठकमा उहाँले राष्ट्रिय शक्ति मिलेर मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले उपयुक्त समयमा वामपन्थी एकता हुने तर पार्टीलाई हानी पु¥याउनेहरुसँग भने एकता नहुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले अहिले आफूले वामपन्थी शक्तिहरुलाई जुटाउने मात्र काम गरेको तर केही स्वार्थी तत्वले सधैं आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताउनुभयो ।

समितिमा पार्टीको भूमिका प्रभावकारी
अध्यक्ष ओलीले संसदीय समितिमा पार्टीको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । “संसदमा हाम्रो सहभागिता सक्रिय र प्रभावकारी हुनुपर्दछ । गलत निर्णय संसदबाट हुनुहुँदैन । भोलिका दिनमा संसदको इतिहास हेर्दा पनि संसदले यस्तो गरेछ भन्ने नहोस्”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले समितिमा कुनै विषयमा कहिलेकाहीँ स्वार्थ समूहले प्रभावित गर्ने भएकाले त्यस्ता स्वार्थ समूहका हित हावी भएर राष्ट्रिय हित कमजोर बनाउन नहुने धारणा समेत राख्नुभयो । उहाँले सही दिशामा राजनीतिक फर्कदै गरेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा देखिएको विवादले केही प्रभाव नपार्ने बताउनुभयो ।

उहाँले समृद्ध नेपाल र सुखी नेपाली लक्ष्य पूरा गर्न समाजवाद आवश्यक रहेको बताउनुभयो । “राजनीतिक धेरै बिग्रेपछि जनतामा असन्तुष्टि र अन्योल बढ्छ”, उहाँले भन्नुभयो ।

उहाँले एमालेका लागि शक्तिको खेलमा लाग्नुभन्दा मुलुकको राष्ट्रिय हितमा काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । “अहिले एमालेले कतिपयले यो वा त्यो मन्त्रालय लिएन भनेर हल्ला चलाएका छन् । सबै मन्त्रालय उत्तिकै महत्वपूर्ण छन्”, उहाँले भन्नुभयो, “हाम्रा लागि मन्त्रालय वा पद ठूलो कुरा होइन । मुलुक विकासका लािग नयाँ गठबन्धन जरुरी हो ।”

अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख उद्देश्य भएको भन्दै सोहीअनुसार पार्टीलाई अगाडि बढाउने बताउनुभयो । उहाँले पार्टीका सांसदलाई धेरै विदेश भ्रमण नगर्न सुझाव दिँदै सांसदलाई गल्ती र ठगीबाट जोगिने आग्रह गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटका लागि आवश्यक सुझाव पेस गर्न पनि सांसदहरुलाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले सांसदको काम कानून निर्माण रहेको भन्दै सांसदलाई जथाभावी प्रस्तुत नहुन र पूरा हुन नसक्ने खालका विकास निर्माणका काममा प्रतिबद्धता नजनाउन पनि सुझाव दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित