काठमाडाैं ।
स्तरीय पर्यटक भित्र्याउन यौन व्यवसायलाई मान्यता दिनुपर्ने सत्तापक्षका सांसदको प्रस्तावप्रति संसद्मा विरोध भएको छ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले सो प्रस्तावप्रति आपत्ति जनाएका हुन्।
आकस्मिक समयमा राप्रपा सांसद दीपकबहादुर सिंहले सत्तापक्षका सांसदले ‘वेश्यालय’ खोल्ने कुरा गरेको भन्दै आपत्ति जनाए। ‘स्तरीय पर्यटक भित्र्याउन र ज्यादा खर्च गर्ने पर्यटका लागि यौन परमिट लाइसेन्स दिनुपर्छ भनेर सत्ता पक्षका सांसदले प्रस्ताव गरेका छन्। वेश्यालय र कोठी सरकारले चलाउने दिन आएको हो,’ सांसद सिंहले प्रश्न गरे, ‘देवभूमी, माता सीता र भृकुटीको देश, देवी पुजनको देश। यही दिनको लागि राजतन्त्र फ्याकेर गणतन्त्र ल्याएको हो?’
माओवादी सांसद दुर्गा राईले यौन व्यवसायलाई मान्यता दिने प्रस्तावले सामाजिक मर्यादा भत्काउने भन्दै आपत्ति जनाइन्। ‘यौन व्यवसायलाई मान्यता दिने प्रस्ताव गर्ने माननीयलाई मेरो प्रश्न छ– त्यो कामको लागि परिवारबाट अघि सार्न आँट गर्नुहुन्छ?’
यसअघि आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले स्तरीय पर्यटक भित्र्याउन यौन व्यवसायलाई मान्यता दिनुपर्ने प्रस्ताव गरेका थिए।