काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ।
आज प्रधानमन्त्री निवास, बालुवाटारमा महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति तथा कानुन निर्माण, नेपाल विकास सम्मेलनको आयोजना लगायतका विषय समेटिएको घोषणापत्र प्रधानमन्त्रीलाई बुझाएको हो।
सो अवसरमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका कार्यमा सफलता हासिल गर्न शुभकामना दिए।
महासङ्घको ११औँ महाधिवेशन गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। उक्त महाधिवेशनबाट अर्जुनकुमार भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो।