म्याग्दी ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। गत फागुन २९ गते निर्माणाधीन आयोजनामा दुर्घटना हुँदा ज्यान गुमाएका मजदुरका आफन्त तथा स्थानीयबासीले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको कार्यालयमा तालाबन्दी गरेका हुन्।
रघुगङ्गा–४ बुक्लस्थित आयोजनाको अडिट नं. २ मा ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सको डिपी टुए ७०८३ नम्बरको मिस्कर सडकबाट ८० मिटर तल खस्दा बेनी नगरपालिका–२ का ४२ वर्षीय हेमबहादुर घिमिरेको घटनास्थलमै मृत्यु भएको थियो। मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध नगराएपछि स्थानीयले पिप्लेस्थित रघुगङ्गा हाइड्रोपावरको कार्यालयमा तालाबन्दी गरेका हुन्।
बेनी–२ का पूर्ववडाध्यक्ष हिराबहादुर थापाका अनुसार तिल्केनीचौरस्थित ठेकेदारको कार्यालयमा तालाबन्दी गर्न गएका ज्यामरुककोटका स्थानीयलाई प्रहरीले रोक्ने प्रयास गरे पनि अन्ततः कार्यालयमा तालाबन्दी गरिएको छ। घटनापछि सरोकारवाला पक्षबीच छलफलको तयारी गरिएको छ।
बेनी अस्पतालमा राखिएको मृतकको शव आफन्तले अझै बुझेका छैनन्। ठेकेदार कम्पनीले बिमा तथा कम्पनीको नियमानुसार राहत उपलब्ध गराउने बताइरहे पनि मृतकका आफन्तले रु ५० लाख क्षतिपूर्ति माग गरेपछि विवाद बढेको छ।
निर्माणको अन्तिम चरणमा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा गत पुसयता भएका दुर्घटनामा चारजनाले ज्यान गुमाएका छन्। रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले ठेकेदार र मृतकका आफन्तसँग समन्वय भइरहेको भन्दै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।