माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा
माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा
    • बेल संचार

    • ४ चैत्र २०८१, मंगलवार

म्याग्दी ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। २२.५ मेगावाट क्षमताको यस आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ।

ठूलोखोला हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोला र वडा नं ८ कुइनेमङ्गलेको सीमाक्षेत्रमा निर्माण गरिरहेको यो आयोजना दुई वर्षअघि सुरु भएको थियो। हालसम्म बाँध, विद्युत्गृह र पाइपलाइनतर्फको करिब ८० देखि ९० प्रतिशत काम सम्पन्न भइसकेको वित्त प्रमुख प्रदीप खतिवडाले जानकारी दिए। उनका अनुसार आगामी जेठ मसान्तभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य राखिएको छ।

आयोजनाको पूर्वाधार निर्माणका लागि देव ऊर्जा कन्ट्रक्सन प्रालिले दैनिक २०० भन्दा बढी श्रमिक परिचालन गरेको छ। आवश्यक उपकरणको ढुवानी तीव्र रूपमा भइरहेको र विद्युत्गृहमा विद्युतीय उपकरण तथा सामग्री जडानको काम जारी रहेको खतिवडाले बताए।

सुरुङरहित यो आयोजनामा कुल २,८०० मिटर पाइपलाइन जडानको कार्य अन्तिम चरणमा छ। रघुगङ्गा नदीको बाँधबाट पेनस्टक पाइपलाइनमार्फत पानी सेतिनी भ्यालीको फेदीस्थित विद्युत्गृहमा झारेर विद्युत् उत्पादन गरिने आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिए। उनका अनुसार उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कामसमेत तीव्र गतिमा भइरहेको छ।

करीब ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा प्रवर्द्धकको तर्फबाट ३० प्रतिशत तथा बाँकी ७० प्रतिशत सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने वित्तीय सम्झौता भएको छ।

4o

साताकाे चर्चित
सम्बन्धित