काठमाडौं ।
इजरायलले गाजा क्षेत्रमा पुनः हमला गरेको छ, जसका कारण ३४ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्। इजरायली सेनाले हमासको क्याम्पहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको छ।
रोयटर्सका अनुसार मध्य गाजाको देर अल बलाहस्थित तीनवटा घर तथा खान युनिस र सफाहका भवनहरू इजरायली हमलाको निशानामा परेका छन्। गाजाको सिभिल डिफेन्स एजेन्सीका अनुसार यी हमलामा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन्।
गाजामा पछिल्लो युद्धविराम सन् २०२५ को १९ जनवरीदेखि लागू भएको थियो, जसको पहिलो चरण १ मार्चमा समाप्त भएको थियो। दोस्रो चरणको वार्ता जारी रहेका बेला इजरायलले हमासलाई लक्षित गरी हमला गरेको हो।
बीबीसीले यो आक्रमणलाई युद्धविरामपछि सबैभन्दा ठूलो हमला भनेको छ।इजरायलका प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इसराइल काट्जको निर्देशनमा मंगलबार बिहान गाजा क्षेत्रमा हमला गरिएको उल्लेख गरिएको छ। इजरायली पक्षले हमासले बन्दीहरू रिहा गर्न अस्वीकार गरेको र अमेरिकी विशेष प्रतिनिधि विट काफ तथा अन्य मध्यस्थकर्ताको प्रस्ताव नमानिएको कारण आक्रमण गर्नुपरेको बताएको छ।