नयाँ दिल्लीमा आयोजित राइसिना डाइलग कार्यक्रममा सहभागिता जनाउन पुगेका नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच मंगलबार द्विपक्षीय भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल-युक्रेन सम्बन्ध, आपसी हितका विविध विषयहरूमा छलफल भएको थियो। विशेष रूपमा, मन्त्री डा. देउवाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि पहल गर्न आग्रह गरिन्।
उनले नेपालमा रसियाली सेनामा भर्ना हुन पाउने कुनै आधिकारिक नीति नभए पनि मानव तस्करीमार्फत नेपालीहरूलाई जबर्जस्ती रुसी सेनामा भर्ती गराइएको जानकारी दिइन्। ती सात नेपाली हाल युक्रेनी सेनाको कब्जामा युद्धबन्दीका रूपमा रहेको भन्दै उनले तिनको सुरक्षित रिहाइका लागि युक्रेन सरकारसँग सहयोगको अनुरोध गरिन्।
युक्रेनी विदेशमन्त्री सिबिहाले कानूनी प्रक्रिया पूरा गरी उनीहरूको रिहाइका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी, भेटवार्तामा मन्त्री डा. देउवाले नेपालले सन् २०२७-२०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य बन्न उम्मेदवारी दिएको उल्लेख गर्दै युक्रेन सरकारको समर्थनका लागि आग्रह गरिन्।
यस भेटवार्ताको अवसरमा नेपाल र युक्रेनबीच सरकारी तथा कूटनीतिक पासपोर्टवाहकहरूलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।