काठमाडौँ ।
नयाँ दिल्लीमा जारी ‘राइसिना डाइलग’ कार्यक्रममा सहभागिता जनाउने क्रममा नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइबीच भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल र मल्दोभाबीचको कूटनीतिक सम्बन्ध, आपसी हितका विषयहरूमा विस्तृत छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। विशेष रूपमा, जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव र सो समस्यासँग जुध्न मिलेर काम गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको थियो।
मन्त्री डा. राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रबाट स्तरोन्नति हुँदै गएको जानकारी गराउँदै त्यसपछि नेपाललाई आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहायताबारे मल्दोभाको सहयोगको अपेक्षा राखिन्। साथै, नेपालले राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्य पदका लागि दिएको उम्मेदवारीमा मल्दोभाको समर्थनका लागि आग्रह गरिन्।
उनले मल्दोभाका विदेशमन्त्री पोपसोइको आसन्न नेपाल भ्रमणबारे पनि चर्चा गर्दै उक्त भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।