जुम्ला।
कर्णाली प्रदेशको प्रसिद्ध धार्मिक शक्तिपीठ कनकासुन्दरी मन्दिरमा महानवमीका अवसरमा भक्तजनको उल्लेख्य भीड लागेको छ। बडादशैंको महानवमीका दिन बिहानैदेखि मन्दिरमा दर्शन तथा पूजाआजा गर्नेहरूको चहलपहल बढेको हो।
जुम्लाका हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकासहित आसपासका विभिन्न क्षेत्रबाट हजारौँ श्रद्धालु मन्दिर पुगेका छन्। महानवमीमा कनकासुन्दरी देवीको दर्शन र पूजाआजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनहरू मन्दिरमा भेला भएका हुन्।
महानवमीका अवसरमा मन्दिर परिसरमा खसी, बोका, राँगा, हाँस तथा परेवाको बलि दिने परम्पराअनुसार पूजाआजा गरिएको छ। मन्दिरलाई फूलमाला र बत्तीले सजाएर आकर्षक बनाइएको छ भने धार्मिक गतिविधिले आसपासको क्षेत्रसमेत उत्सवमय बनेको छ।
कनकासुन्दरी मन्दिर पर्यटन क्षेत्र विकास समिति लामाथाडाका अध्यक्ष नरबहादुर रावतका अनुसार महानवमीका दिन मन्दिरमा पूजाआजा गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ।
अध्यक्ष रावतका अनुसार यस वर्ष मन्दिरमा २१७ वटा खसीबोका र आठवटा राँगाको बलि दिइएको छ। भक्तजनको चाप बढेपछि दर्शन तथा पूजाआजालाई व्यवस्थित बनाउन प्रहरी र स्वयंसेवक परिचालन गरिएको उनले बताए।
धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको कनकासुन्दरी मन्दिरमा महानवमीका दिन देखिएको भक्तजनको उपस्थितिले जुम्लाको दशैं उत्सवलाई थप रौनकमय बनाएको छ।