तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुँदै
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुँदै
    • बेल संचार

    • ६ कार्तिक २०८३, बिहीबार

तनहुँ।

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयका कारण प्रभावित हुने चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ। स्थानीय बासिन्दाको आवतजावत सहज बनाउने उद्देश्यले पुल पुनःस्थापनाको काम अघि बढाइएको हो।

यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौंबीच ठेक्का सम्झौता भएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार पुल पुनर्निर्माणका लागि करबाहेक १६ करोड ९७ हजार ३८ रुपैयाँमा सम्झौता गरिएको छ।

आयोजनाको जलाशय निर्माणसँगै पुराना पुल प्रभावित हुने भएपछि स्थानीयवासीसँग छलफल गरी नयाँ स्थान छनोट गरेर पुल निर्माण गर्न लागिएको भण्डारीले जानकारी दिए। उनका अनुसार निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेका छन्।

आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवा क्षेत्रमा चारवटा झोलुङ्गे पुल निर्माण गरिनेछ। यी पुल निर्माण भएपछि जलाशयका कारण प्रभावित क्षेत्रका बासिन्दालाई दैनिक आवतजावत गर्न तथा विभिन्न सेवा र सुविधासम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ।

स्थानीय समुदायको आवश्यकतालाई ध्यानमा राखेर पुल निर्माणको स्थान निर्धारण गरिएको आयोजनाले जनाएको छ। सम्झौताअनुसार चारवटै पुलको निर्माण कार्य २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

साताकाे चर्चित
सम्बन्धित