संसद् विघटन ठिक थियो भन्ने प्रस्ताव विधान महाधिवेशनले पारित गर्ला ?
संसद् विघटन ठिक थियो भन्ने प्रस्ताव विधान महाधिवेशनले पारित गर्ला ?

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका बादलका अनुसार राजनीतिक प्रतिवेदनमा संसद् विघटनको कदम सही रहेको प्रस्ताव प्रस्तुत हुँदै छ ।

    • Bell Sanchar

    • १५ आश्विन २०७८, शुक्रबार

काठमाडौं ।

नेकपा (एमाले)को विधान महाधिवेशन आउँदो शुक्रबारदेखि सुरु हुँदै छ । शुक्रबार राजनीतिक, सांगठनिक र विधान संशोधनको प्रस्ताव बैठकमा प्रस्तुत हुने स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले जानकारी दिए ।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका बादलका अनुसार राजनीतिक प्रतिवेदनमा संसद् विघटनको कदम सही रहेको प्रस्ताव प्रस्तुत हुँदै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बादलले संसद् विघटनबारे एमालेमा मतभेद कायमै रहे पनि संसद् विघटनको कदम सही भएको पार्टीको निर्णय रहेको दाबी गरे ।

“केन्द्रीय कमिटीले संसद् विघटनको कदमलाई सहिी कदमको रूपमा निश्चित गरेको छ । कतिपय भिन्न मत पनि छन् । संसद् विघटनको कदम बेठिक थियो, लोकतन्त्रविरोधी, संविधानविरोधी थियो भन्ने पनि निश्चित रूपमा छन्,” उनले भने,“ तर, विघटन जाहेज थियो, सही थियो भन्ने यो पार्टीको निर्णय हो । त्यही विषय प्रतिवेदनमा समेटिएको छ ।”

नेकपाको सरकारलाई अपदस्थ गर्ने, सरकारलाई विघटन गर्ने कदमचाहिँ बेठिक रहेको प्रतिवेदनमा समेटिएको उनको भनाइ छ ।

एमालेको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले संसद् विघटनको कदमलाई गैरसंवैधानिक भएको बताएका थिए । एमालेमा तत्कालीन अवस्थामा माधवकुुमार नेपालको साथमा रहेका १० स्थायी कमिटी सदस्यले संसद् घिटनको विरोध गरेका थिए ।

उनीहरूले विघटनबारे समीक्षा हुनुपर्ने बताउँदै आएका छन् । बाह्रखरीसँगको कुराकानीमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संसद् विघटन संवैधानिक व्यवस्था नभएकाले समीक्षा हुनुपर्ने बताएका छन् ।

तत्कालीन नेकपाका अध्यक्ष रहेका ओलीले दुईपटक संसद् विघटन गरेका थिए । यही असोज १५–१७ सम्म चल्ने एमालेको विधान महाधिवेशनमा संसद् विघटनबारे पनि छलफल हुनेछ । एमालेका केही नेताहरूले विघटनलाई अधिवेशनको एजेन्डा बनाउनुपर्ने पनि बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित