रासस र ‘कतार न्यूज एजेन्सी’बीच समझदारीपत्रमा हस्ताक्षर हुने   
     रासस र ‘कतार न्यूज एजेन्सी’बीच समझदारीपत्रमा हस्ताक्षर हुने   
    • Bell Sanchar

    • ११ बैशाख २०८१, मंगलवार

काठमाडौँ,

राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सी (क्युएनए)बीच समाचार आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको आजदेखि हुन लागेको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा दुई देशका समाचार समितिबीच समझदारीपत्रमा हस्ताक्षर हुन लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सञ्चार मन्त्रालयका अनुसार समझदारीपछि दुवै संस्थाबीच निःशुल्क समाचार आदानप्रदान हुनेछ । साथै राससले उत्पादन गरेका समाचार क्युएनएमार्फत कतारका सञ्चारमाध्यमले र क्युएनएले उत्पादन गरेका समाचार राससमार्फत नेपालका सञ्चारमाध्यमलाई प्रयोग गर्न सहज हुनेछ ।

विसं २०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित नेपालको एकमात्र समाचार एजेन्सी हो । क्युएनए सन् १९७५ मे २५ मा स्थापना भएको राज्यद्वारा सञ्चालित कतारको एकमात्र समाचार समिति हो ।

राष्ट्रपति कार्यालयका अनुसार कतारका अमिरलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम छ । पश्चिम एसियाबाट नेपालमा पहिलोपटक अमिरको तहमा भ्रमण हुन लागेको हो ।

कतारका अमिर नेतृत्वको प्रतिनिधिमण्डलसँग भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रमण्डलले द्विपक्षीय वार्ता गर्नेछ । कतारी अमिरले आज नै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्नुहुनेछ । राष्ट्रपति पौडेलले उहाँको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नुहुनेछ ।

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग अभिवृद्धिसम्ब्न्धी सम्झदारीपत्रमा हस्ताक्षर हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित