कोभिड अनुदानमा धोकाधडी गरेको आशंकामा २ जना पक्राउ
कोभिड अनुदानमा धोकाधडी गरेको आशंकामा २ जना पक्राउ
    • Bell Sanchar

    • ३० कार्तिक २०७८, मंगलवार

टोकियो महानगर सरकारले दुई जनालाई कोभिड–१९ सम्बन्धी सरकारी राहत अनुदान कार्यक्रममा ठगी गरेको आरोपमा पक्राउ गरेका छन् । सोमबार धोकाधडीपूर्ण तवरले राहत अनुदान लिएको आशंका प्रहरीले टोकियोको सेतागाया वडामा बस्ने ६५ वर्षिय हिरोशी आमानो र मिनातो वडामा बस्ने ५८ वर्षिय हिरोकी इसोबेलाई पक्राउ गरेको हो ।सरकारले महामारीको मारमा परेका साना तथा मझौला आकारका व्यवसायहरुलाई टेवा दिनका लागि सो अनुदान कार्यक्रम ल्याएको थियो । यी दुबै जनाको पेशा के हो भनेर प्रहरीले पूष्टि गरिसकेको छैन । यी दुई जना मिलेर गत वर्षको जुलाई यता नक्कली कम्पनीका नामबाट करीब ४० ओटा अनुदान सम्बन्धी आवेदन दिएर कूल ८ करोड येन (७ लाख २ हजार डलर) लिएको अनुमान गरिएको छ ।

गत वर्षको नोभेम्बरदेखि यी दुबैले आवेदनका लागि सहकार्य गरिरहेको आशंका महानगर प्रहरी विभागको तेस्रो संगठित अपराध नियन्त्रण एकाईले बताएको छ । यिनीहरुले कोभिडका कारण विक्रीमा निकै ठूलो घाटा भइरहेको कम्पनीसँग आबद्ध रहेको बाहाना बनाएर पैसा लिएको बताइएको छ । यिनीहरुले मधय मार्चमा करीब २० लाख येन सहुलियत ठगेर लिएको प्रहरीको अनुमान छ ।

यिनीहरुले अनुदानका लागि प्रयोग गरेका कम्पनी नक्कली भएको र यी कम्पनीहरुको विगत १० वर्षमा सञ्चालनको कुनै रेकर्ड पनि नरहेको बताइएको छ । अहिलेसम्मको अनुसन्धानमा यी दुई जनाले धोकाधडी गर्न १० जनाको समूह परिचालन गरेको एकाईको निस्कर्ष छ । यसमा संलग्न अन्य सदस्यहरुको पहिचान गर्न, समूहमा उनीहरुको भूमिका थाहा पाउन र ठगीमा उनीहरु कुन हदसम्म संलग्न छन् भन्ने कुराको खोजबिन गर्न प्रहरीले अनुसन्धान जारी राख्ने बताइएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित