५४ खर्ब येनभन्दा धेरैको रक्षा बजेट ल्याउन खोज्दै जापान
५४ खर्ब येनभन्दा धेरैको रक्षा बजेट ल्याउन खोज्दै जापान
    • Bell Sanchar

    • २ पुष २०७८, शुक्रबार

जापान सरकारले आर्थिक वर्ष २०२२ का लागि अहिलेसम्मकै उच्च आकारको रक्षा बजेट ल्याउनेबारे विचार गरिरहेको छ । आगामी अप्रिलदेखि शुरु हुने आवका लागि सरकारले ५४ खर्ब येन (४९ अर्ब डलर) बराबरको रक्षा बजेट माग गर्न खोजेको अधिकारीहरुले बिहिबार बताएका छन् ।अनुरोध गरिएको बजेटले चालु आवको प्रारम्भिक बजेटलाई नाघेको यो लगातार आठौं वर्ष हुनेछ । यो अनुरोधमा अमेरिकी सैन्य शिविरलाई सरकारले दिने सहायता रकम समावेश नगरिएकोले रक्षा बजेट थप बढ्न सक्ने बताइएको छ ।

जापानको रक्षा बजेट लामो समयदेखि जीडीपीको १ प्रतिशत आसपास राख्दै आएको छ । सन् १९७६ मा तत्कालीन मन्त्री परिषद्ले रक्षा बजेट जीडीपीको १ प्रतिशत नघटाउने निर्णय गरेको थियो । यस अघि रक्षा खर्च सन् २०१० मा जीडीपीको अनुपातमा १ प्रतिशतभन्दा धेरै थियो ।

आर्थिक वर्ष २०२१ को प्रारम्भिक बजेटमा सरकारले ५३ खर्ब ४२ अर्ब २० करोड येन बराबरको रक्षा खर्च छुट्टाएको थियो । चीन र उत्तर अमेरिकाबाट उत्पन्न खतराको प्रतिकार गर्न सरकारले रक्षा खर्च बढाउने योजना बनाएको हो । चीन र उत्तर कोरिया दुबैले आफ्नो सैन्य क्षमता बढाइरहेका छन् । अमेरिकाले पनि जापानलगायत आफ्नो मित्र देशहरुलाई प्रतिरक्षा क्षमता मजबूत बनाउन अनुरोध गरिरहेको छ ।

 

साताकाे चर्चित
सम्बन्धित