विश्व बैंकको कोषलाई ३ खर्ब ७६ अर्ब येन दिँदै जापान
विश्व बैंकको कोषलाई ३ खर्ब ७६ अर्ब येन दिँदै जापान
    • Bell Sanchar

    • २ पुष २०७८, शुक्रबार

जापानले विश्व बैंकको अन्तरराष्ट्रिय विकास संघ (आईडीए)लाई ३ खर्ब ७६ अर्ब ७० करोड येन (३ अर्ब ४० करोड डलर) दिने भएको छ । कोरोना भाइरसको महामारीको प्रभावबाट उम्किन गरिबी देशहरुलाई मद्दत गर्न आईडीएलाई सो सहयोग गर्न लागिएको हो । आईडीएले आफ्नो कोषलाई न्यून आय भएका ७४ देशहरुलाई खोप उपलब्ध गराउने, महामारीको बेलामा गुमेका जागिर सृजना गर्ने र जलवायु परिवर्तनसँग सम्बन्धित समस्याहरु समाधान गर्ने जस्ता काममा प्रयोग गर्नेछ ।

‘विश्वले कोभिड–१९ को महामारीका कारण उत्पन्न अभूतपूर्व संकटको सामाना निरन्तर गरिरहेको छ,’ अर्थमन्त्री सुनिची सुजुकीले जापानले आयोजना गरेकोे दाताहरुको दुई दिने भर्चुअल बैठकमा भनेका थिए । अहिले सारा विश्व एकजूट हुने समय भएको पनि उनले बताए । आईडीएका लागि विश्व बैंकले ९३ अर्ब डलरको पुनःपूर्ति प्याकेजको घोषणा गरेको छ । सामान्यतः पुनःपूर्ति प्याकेज आईडीएलाई हरेक तीन वर्षमा उपलब्ध गराइन्छ ।तर महामारीका कारण कोषको रकम घट्दै गएपछि बैंकले अहिलेसम्मकै ठूलो प्याकेजको घोषणा गरेको थियो ।

सन् २०१९ मा दाताहरुले आईडीएलाई ८२ अर्ब डलर योगदान दिएका थिए । यस पटक जापान र अन्य दाताहरुले कूल २३ अर्ब ५० करोड डलर दान दिएका छन् । आईडीएको स्थापना सन् १९६० मा भएको थियो । यसले आर्थिक वृद्धि उकास्ने र गरिबी घटाउने परियोजनाहरुमा विश्वका गरिब देशहरुलाई अनुदानका साथै शून्य ब्याजदरमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित