भारतीय राज्यसभामा जया बच्चन आक्रोशित- म श्राप दिन्छु तपाईँहरूको खराब दिन सुरू हुन्छ
भारतीय राज्यसभामा जया बच्चन आक्रोशित- म श्राप दिन्छु तपाईँहरूको खराब दिन सुरू हुन्छ

सरकारको अब खराब दिन आएको भन्दै बच्चन आक्रोशित बनिन्।

    • Bell Sanchar

    • ६ पुष २०७८, मंगलवार

भारतीय राज्यसभामा समाजवादी पार्टीकी सांसद जयाँ बच्चनले सरकारमाथि आक्रोश पोख्दै श्राप दिएकी छन्।

राज्यसभामा भइरहेको नार्कोटिक ड्रग्स र साइकोट्रोपिक पदार्थ (संशोधन) विधेयकमाथिको छलफलका क्रममा सोमबार संसदको चर्काचर्की भएको हो।

सरकारको अब खराब दिन आएको भन्दै बच्चन आक्रोशित बनिन्।

सभामुखले जया बच्चनलाई नार्कोटिक ड्रग्स एन्ड साइकोट्रोपिक सब्सटेन्सेस (संशोधन) विधेयक २०२१ मा छलफलमा बोल्न समय दिए।

उनले सुरूमै भनिन् ‘म तपाईँलाई धन्यवाद दिन चाहन्नँ। किनकि तपाईँ यताबाट चिच्याउँदै बेलमा जाने समयको याद गर्ने कि आज त्यो कुर्सीमा बसेको बेलाको याद गर्ने?’

जया बच्चनले बोलिरहेको बेला भाजपा सांसद राकेश सिन्हाले उनीमाथि संसदको गरिमा घटाएको भन्दै आक्रोश पोखे। उनले सभामुखलाई व्यक्तिगत रुपमा सम्बोधन गरेको आरोप लगाउँदै संसदको गरिमामा चोट पुगेको बताए। उनले यसरी सभामुखको कुर्सीको अपमान कसैले गर्न नसक्ने जिकिर गरे।

त्यसपछि भुवनेश्वरले जय बच्चनलाई माननीय सदस्य भन्दै आफ्नो कुरा अघि बढाउन आग्रह गरे। त्यसपछि जया बच्चनले भनिन्, ‘धन्यवाद तपाईँले मलाई माननीय भनेर सम्बोधन गर्नुभयो। तर यदि तपाईँ मलाई साँच्चै सम्मानजनक ठान्नुहुन्छ भने मेरो कुरा ध्यान दिएर सुन्नुहोस्। हामी न्याय चाहन्छौं। हामी उहाँहरू (सरकार) बाट न्यायको अपेक्षा गर्न सक्दैनौं, तर के हामी तपाईंहरूबाट? सदनका सदस्य र बाहिर बसेका १२ सदस्यका लागि के गर्दै हुनुहुन्छ?’

बच्चनलाई सभाध्यक्षले विषयमा प्रवेश गर्न अनुरोध गरे। तर बच्चनले सभामुख भुवनेश्वर कलितालाई भनिन्, ‘तपाई नबोल्नुहोस्, यो मेरो बोल्ने मौका हो.. किन बोल्दै हुनुहुन्छ ?,’ उनले अगाडि भनिन्, ‘हामीसँग यो ठूलो बिषयमा छलफल गर्ने हो तर हामीले यहाँ ३–४ घन्टा समय दिएका छौं, त्रुटिबारे मात्रै छलफल गर्नका लागि। यो के हुँदैछ? यो लज्जास्पद छ।’

उनले अगाडि भनिन्, ‘हेर्नुहोस् तपाईहरूको अब खराब दिन छिट्टै आउँदैछ। यदि तपाईंको मनोवृत्ति यस्तै रह्यो भने, तपाईँको खराब दिन छिट्टै आउनेछ।’

यसैबीच एक सदस्यले उनीमाथि व्यक्तिगत टिप्पणी गरे। त्यसविरूद्ध जया बच्चन थप आक्रोशित भइन्। ‘उहाँलाई कारबाही गर्नुपर्छ। कसैले कसैको बारेमा व्यक्तिगत टिप्पणी कसरी गर्नसक्छ?’

उनले आफ्नो मनमा सहकर्मी र बाहिर बसेका सांसदहरुप्रति कसैले सम्मान नगरेको बताइन्। ‘तपाईका दिनहरू खराब हुनेछन्। म सराप दिन्छु’, उनले भनिन्।

त्यसपछि सदनको कारवाही स्थगित भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित