टाउको नखोली मस्तिष्काघातको शल्यक्रिया प्रभावकारी
टाउको नखोली मस्तिष्काघातको शल्यक्रिया प्रभावकारी
    • Bell Sanchar

    • १४ पुष २०७८, बुधबार

काठमाण्डौ । नेपालमा मस्तिष्काघात (स्ट्रोक)को शल्यक्रिया गर्दा टाउको खोलेरमात्र हुने गरेकोमा अब टाउको नखोली गर्ने प्रविधि प्रभावकारी देखिएको छ । टाउको खोलेर शल्यक्रिया गर्दा ५० देखि ६० प्रतिशतसम्म मात्र सफलता हुने गरेकोमा टाउको नखोली न्युरोसम्बन्धी शल्यक्रिया गर्दा ९७ प्रतिशत सफलता मिल्ने बताइएको छ ।

टाउको नखोली मस्तिष्काघातको शल्यक्रिया गर्दा बिरामी मस्तिष्काघात भएको सात घण्टामा अस्पताल पु-याइसक्नुपर्छ । समयमै अस्पताल पु-याउन सकेको अवस्थामा बिरामी सकुशल डिस्चार्ज गर्न सकिन्छ । तर, समयभन्दा पछि अस्पताल लगेमा टाउको नखोली गरिने शल्यक्रिया फलदायी नहुन सक्छ । टाउको नखोली मस्तिष्काघातको शल्यक्रिया गर्ने प्रविधिलाई न्युरो इन्टरभेन्सन प्रविधि भनिन्छ ।

 

नेपालमा न्युरो इन्टरभेन्सनका एकमात्र शल्य चिकित्सक डा. सुवास फुँयालले नेपालमा न्युरो इन्टरभेन्सन प्रविधि सफलतामा गएको बताउनुभयो । नयाँ आएको उक्त प्रविधि ९७ प्रतिशतसम्म सफलता मिल्ने भन्दै उनले टाउको खोलेर गरिने मस्तिष्काघातको शल्यक्रियामा बिरामीलाई पहिलेकै अवस्थामा ल्याउन सक्ने अवस्था ५०/५० मात्र रहेको जानकारी दिए ।

डा. फुँयालले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्समा उक्त प्रविधिबाट आफूले तीन सयभन्दा बढीको शल्यक्रिया गरेको जानकारी दिए । उनले हालसम्म आफूले शल्यक्रिया गरेकामध्ये तीन जनालाई मात्र बचाउन नसकेको भन्दै अरू व्यक्ति पूर्ण ठीक भएर डिस्चार्ज भएको जानकारी दिए । याे खबर गाेरखापत्र दैनिकमा छ ।

 

साताकाे चर्चित
सम्बन्धित