भारतका पाँच राज्यमा विधान सभाको मत गणना जारी, पन्जाबमा आम आदमी आउन सक्ने
भारतका पाँच राज्यमा विधान सभाको मत गणना जारी, पन्जाबमा आम आदमी आउन सक्ने

टाइम्स अफ इन्डियाका अनुसार स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मत गणना सुरू भएको हो।

    • Bell Sanchar

    • २६ फाल्गुन २०७८, बिहीबार

भारतका पाँच राज्यहरूमा आज (बिहीबार) विधान सभाको मतगणना भइरहेको छ।

टाइम्स अफ इन्डियाका अनुसार स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मत गणना सुरू भएको हो।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश र उत्तराखण्डसहित पन्जाब र गोवा र उत्तरपूर्वको मणिपुरमा विधान सभाका लागि चुनाव भएको थियो। केहीबेरमा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक हुनेछ।

उत्तर प्रदेशमा ४०३ सिटका लागि चुनाव भएको थियो। एक्जिट पोलहरूले सत्तारूढ भारतीय जनता पार्टीले फेरि पनि उत्तर प्रदेशमा बहुमत ल्याउने देखाएका छन्। त्यहाँ भाजपाका योगी आदित्यनाथ अहिले मुख्यमन्त्री छन्।

उता ११७ सदस्यीय पन्जाब विधान सभाको चुनावले भने धेरैको ध्यान तानेको छ। वर्षौंदेखि कंग्रेस आईको सत्ता रहेको पन्जाबमा यसपालि आम आदमी पार्टी (आप) को सरकार बन्ने सम्भावना छ। एक्जिट पोलहरूले पन्जाबमा आपले बहुमत ल्याउने देखाएका छन्।

आपको बहुमत आएमा भागवन्त मान पन्जाबका मुख्यमन्त्री हुनेछन्। आपले अहिले दिल्लीमा सरकार चलाइरहेको छ। पन्जाबको चुनाव जित्नु उसका लागि ठूलो उपलब्धी हुनेछ। गोवामा ४० सिटका लागि चुनाव भएको थियो।

प्रारम्भिक नतिजामा गोवामा कंग्रेस आईका उम्मेदवार ६ सिटमा अगाडि छन् भने भाजपा उम्मेदवारले ४ ठाउँमा अग्रता लिइरहेका छन्।

आपले गोवाको विधान सभा चुनावमा पनि सहभागी भएको छ। उत्तराखण्डमा ७० सिटका लागि चुनाव भएको थियो भने मणिपुरमा ६० सिटका लागि चुनाव भएको थियो।

साताकाे चर्चित
सम्बन्धित