प्रकाश सपुतको गीतबारे बाबुरामको टिप्पणी
प्रकाश सपुतको गीतबारे बाबुरामको टिप्पणी

आफू पनि 'जनयुद्ध'को एक अगुवा हुनुको नाताले उक्त गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको भट्टराई बताउँछन्।

    • Bell Sanchar

    • २९ फाल्गुन २०७८, आईतवार

जसपा नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रकाश सपुतको नयाँ गीत ‘पिर’ मा आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका छन्।

आफू पनि ‘जनयुद्ध’को एक अगुवा हुनुको नाताले उक्त गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको भट्टराई बताउँछन्।

गीतले ‘जनयुद्ध’ को विरोध नगरेको भट्टराईको भनाइ छ।

‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु- त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन, गीतले जनयुद्धको विरोध गरेको छैन,’ ट्वीट गर्दै बाबुरामले भनेका छन्।

गीतले अपूर्ण क्रान्तिका पीडा दर्शाएको पनि उनले उल्लेख गरेका छन्।

‘अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ, त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो,’ उनले भनेका छन्, ‘गीतका सर्जकलाई किन धम्काउने?’

नेकपा माओवादी केन्द्र र उसका भातृ संगठन अखिल क्रान्तिकारी, वाइसीएललगायतले भने प्रकाश सपुतको उक्त गीत युट्युवबाट हटाउनुपर्ने बताइरहेका छन्।

माओवादी नेतृ एवं सांसद सत्या पहाडीले पनि गीतमा ‘जनयुद्ध’मा सहभागी महिला मात्र नभएर सिंगो महिला समुदायप्रति माथि लैगिक हिंसा गरेको आरोप लगाएकी छन्।

‘चुनावको मुखैमा आएर प्रकाश सपुतले जनयुद्धको उपलब्धिलाई दिग्भ्रमित पार्दै वीरता, सहास र वलिदानीपूर्ण ढंगले परिवर्तनको आन्दोलनमा समर्पित वीरवीरंगनाहरूको इतिहासलाई अपमान गर्दै गितीकथा सार्वजनिक गरेर परिवर्तन विरोधि प्रवृतिको मतियार बनेका छन्,’ उनले भनेकी छन्।

माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्‍याएको तर सोझासाझाले सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ।

गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले चर्चा पाएको छ। केहीले यसले राम्रो कथा उठाएको भनेर प्रशंसा गरेका छन् भने केहीले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन्।

चुनाव नजिकिएको बेला माओवादीको विरोध गरेको भनेर केहीले यसको आलोचना गरेका छन् भने केहीले भने यसले राम्रो कथा र सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रंशसा गरेका छन्।

माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको छ।

भिडिओमा एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक दम्पति देशमा काम गर्न नसकेर विदेश जान बाध्य परेको र विदेशमा बन्धक बनेको कथाले देखाएको छ।

भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्त देखिएकी छन्। आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाशको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छन्।

गीतमा प्रकाशको नै शब्द र संगीत छ। भिडिओको कथा तथा निर्देशन पनि प्रकाशले नै गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित