एमाले सांसद बानियाँविरुद्ध बाँके प्रहरीमा थप उजुरी
एमाले सांसद बानियाँविरुद्ध बाँके प्रहरीमा थप उजुरी
    • Bell Sanchar

    • ५ असार २०७९, आईतवार

बानियाँविरुद्ध बाँके जिल्ला अदालतमा चेक अनादरको मुद्दा चलिरहेको पाइएको छ भने बाँके प्रहरीमा बैंकिङ कसुरको मुद्दा पनि परेको छ । बानियाँविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गर्ने महिलाले नै उनीविरुद्ध थप मुद्दा दायर गरेकी हुन् । उनीविरुद्ध पछिल्लोपटक पाँच लाखको बैंकिङ कसुरको मुद्दा दायर भएको छ ।

जबरजस्ती करणीको आरोपमा अदालतमा मुद्दा चलिरहेका प्रतिनिधिसभा सदस्य मोहन बानियाँविरुद्ध थप दुईवटा मुद्दा परेका छन् ।

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार जेठ १९ गते प्रहरीमा दायर मुद्दामा सांसद बानियाँविरुद्ध बाँके प्रहरीले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ ।

एसपी अधिकारीका अनुसार बाँके प्रहरीले मुगु प्रहरी र काठमाडौंको बानेश्वर प्रहरीलाई पक्राउ पुर्जी पठाइसकेको छ । सांसद बानियाँ बिहीबारको प्रतिनिधिसभा बैठकमा सहभागी थिए । तर बानियाँ यो समाचार तयार पर्दासम्म पक्राउ परेका छैनन् । पीडित भने प्रहरीले अहिलेसम्म उनलाई नभेटेको बताउने गरेको दुःखेसो गर्छिन् ।

एमालेबाट सांसद रहेका बानियाँ संसद् बैठकमा रहेको आफूले टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको तर प्रहरीले नभेटिएको बताउनु गैरजिम्मेवारी रहेको पीडित महिलाले बताएकी छन् । सांसद बानियाँविरुद्ध २०७८ माघ २७ गते बाँके प्रहरीमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । सांसद बानियाँले माघ १९ गते ती महिलाले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्ने भन्दै नेपालगन्जस्थित एक होटलमा बोलाएर जबरजस्ती करणी गरेको आरोप छ ।

त्यतिबेला पनि जाहेरी परेको लामो समयपछि फागुन १६ गतेमात्रै सांसद बानियाँ पक्राउ परेका थिए । सांसद बानियाँलाई उक्त मुद्दामा अदालतले पक्राउ गरेको एक हप्तापछि पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

त्यसपछि वैशाख २३ गते महिलाले सांसद बानियाँविरुद्ध २५ लाखको चेक अनादर भएको भन्दै अर्काे जाहेरी दिएकी बताइन् । उक्त मुद्दामा आफूले जेठ २६ गते तारिख लिएको तर बानियाँ नआएको ती महिलाले बताइन् । पीडित महिलाले सांसद बानियाँले दिएको पाँच लाखको अर्काे चेक पनि नसाटिएको भन्दै जेठ १९ गते बैंकिङ कसुरमा मुद्दा दायर गरेको बताएकी छन् ।

उनले प्रहरीले सांसद बानियाँलाई पक्राउ गर्न आनाकानी गरेको आरोप लगाएकी छन् । बाँके प्रहरी प्रमुख एसपी अधिकारी भने सांसद बानियाँ काठामाडौंमा रहेकोले त्यहाँको प्रहरीले उनलाई पक्राउ गर्ने बताउँछन् । ‘उहाँ सांसद हो । सकेसम्म आफैँ आउनुहोला । नभए प्रहरीको कर्तत्व नै हो पक्राउ गर्ने, गरिहाल्छ,’ उनले भने । पूर्वमन्त्रीसमेत रहेका बानियाँ पिछडिएको क्षेत्र मुगुबाट एमालेका समानुपातिक प्रतिनिधिसभा सदस्य हुन् ।

बानियाँ निर्धक्क संसद्मा

जबरजस्ती करणीदेखि बैंकिङ कसुरसम्मका मुद्दामा मुछिएका सांसद बानियाँ भने संसद्मा निर्धक्क सहभागी भइरहेका छन् । त्यसैमाथि यौनहिंसासम्बन्धी उजुरीको हदम्याद हटाउनुपर्ने विषयमा सडकदेखि संसद्सम्म गम्भीर बहस चलिरहेका बेला उनी आफूमाथिका मुद्दाको टुंगो नलाग्दै संसद्का सबै कारबाहीमा सहभागी भइरहेका छन् ।

सांसदहरूले आफूलाई अनुकूल हुने गरी बनाएको नियमावलीको फाइदा बानियाँले उठाइरहेका छन् । प्रतिनिधिसभा नियमावलीमा धरौटी वा सामान्य तारिखमा छुटेपछि सांसदको हैसियतमा काम गर्न पाउने प्रावधान छ । त्यही प्रावधनमा टेकेर संसद् सचिवालयले उनको निलम्बन फुकुवा मात्रै गरेको छैन, मासिक पारिश्रमिकसमेत दिने तयारी गरेको छ ।

कान्तिपुर दैनिकका अनुसार रिहा भएलगत्तै बानियाँले अदालतको आदेशसहित संसद् सचिवालयमा निलम्बन फुकुवाको निवेदन दिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीको नियम २४४ को उपनियम २ को प्रावधान उद्धृत गर्दै निलम्बन फुकुवा गरेका हुन् । उक्त प्रावधानमा प्रहरी हिरासतमा रहेको अवस्थामा मात्रै सांसद निलम्बन हुने उल्लेख छ ।

सांसदहरूले नै बनाएको सैनिक ऐनमा भने अन्तिम फैसला नभएसम्म निलम्बन हुने प्रावधान छ । तर सांसदले आफ्नो हकमा भने कमजोर प्रावधान राखेका हुन् । जसको लाभ सांसद बानियाँजस्ताले उठाइरहेका छन् ।

यता पीडित भने आरोपित व्यक्ति संसद्मा निर्धक्क सहभागी भइरहेको देखेर थप पीडामा परेको बताउँछिन् । ‘मलाई जिउनु न मर्नु पारेको छ । उ भने संसद्मा लाजै नमानी सहभागी भएको टेलिभिजमा हेरेर बस्नुपरेको छ,’ उनले भनिन् ।

साताकाे चर्चित
सम्बन्धित