सुदूरपश्चिम प्रदेशका संसदीय गतिविधिबारे जानकारी
सुदूरपश्चिम प्रदेशका संसदीय गतिविधिबारे जानकारी
    • Bell Sanchar

    • १२ असार २०७९, आईतवार

गण्डकी प्रदेशमा संसदीय मामिलामा कलम चलाउने सञ्चारकर्मीको टोलीले सुदूरपश्चिम प्रदेश प्रदेशसभामा भइरहेका संसदीय गतिविधि, कानुन निर्माण प्रक्रियालगायतका विषयमा स्थलगत जानकारी लिएको छ ।

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजना एवं गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको सहयोगमा क्षमता अभिवृद्धिका लागि अध्ययन, अवलोकन र अनुभव आदान–प्रदानसहितको तालिमअन्तर्गत जारी अवलोकन भ्रमणका क्रममा सुदूरपश्चिम प्रदेशमा त्यहाँका सभामुख तथा सरोकारवालाबीच छलफल गरी भइरहेका संसदीय गतिवधिबारे जानकारी लिइएको हो ।

छलफलका क्रममा शनिबार सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिममा कानुन निर्माणका क्रममा के सत्तापक्ष के पक्ष–प्रतिपक्ष सबैले एकताबद्ध प्रयास गर्ने गरेको अनुभव सुनाउनुभयो । सबै विधेयकहरू समितिमा व्यापक छलफल गरेर ल्याउने गरिएको जनाउँदै उहाँले कानुनको कार्यान्वयन भने अपेक्षितरूपमा प्रभावकारी बन्न नसकेको बताउनुभयो ।

संसद्लाई जनतासँग लैजाने कुरालाई आफूहरूले प्राथमिकता दिएको बताउँदै उहाँले विद्यार्थीलाई पनि संसदीय गतिविधि तथा कानुन निर्माणबारे जानकारी गराउनेजस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । कोरोना महामारीलगायतका समस्यामा प्रदेशको आवश्यकता र औचित्य थप पुष्टि भइरेको बताउँदै उहाँले यसलाई बलियो बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले सङ्घीयताको मर्म र भावनाअनुसार शक्ति हस्तान्तरण हुनुपर्ने भए पनि अझै त्यसअनुरुप हुन नसकेको बताउनुभयो । सङ्घका कतिपय कानुन बन्न नसक्दा प्रदेशका कानुन निर्माणमा समस्यासँगै कार्यान्वयनमा पनि प्रभाव परेको उहाँले बताउनुभयो ।

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका कावा अध्यक्ष अमृत सुवेदीले गण्डकी प्रदेशसभामा हुने गरेका संसदीय गतिविधि, संसद् र सञ्चारकर्मीबीचको सम्बन्धलगायतमा जानकारी गराउनुभयो । यसअघि लुम्बिनी तथा कर्णाली प्रदेशमा पनि यस्तै किसिमको छलफल र अन्तक्र्रिया गरिएको उहाँले जानकारी दिनुभयो । मञ्चका सचिव रोहितराज पराजुलीका अनुसार गत बिहीबारदेखि अध्ययन र अवलोकन भ्रमणमा निस्केको टोली आज पोखरा फर्कने कार्यक्रम छ ।

साताकाे चर्चित
सम्बन्धित