गर्मीमा आँखाको संक्रमण: कारण, लक्षण र सावधानी
गर्मीमा आँखाको संक्रमण: कारण, लक्षण र सावधानी
    • Bell Sanchar

    • २८ असार २०७९, मंगलवार

बर्खाको मौसममा आँखा पाक्ने समस्या धेरैलाई देखिन्छ। यो समस्या भाइरस वा ब्याक्टेरीयाको कारणले हुन्छ। भाइरसको संक्रमणबाट आँखा पाकेको हो भने यो सरूवा हुन्छ र ब्याक्टेरिया को संक्रमण बाट भएका आँखा पाक्ने रोगले आँखाको देख्ने शक्तिमै आघात पुग्ने सम्भावना पनि हुन्छ। तर धेरैजसो एलर्जी तथा भाइरल आँखा पाक्ने रोगहरु आँफै निको हुन्छन् तर अन्य कतिपय भाइरस तथा ब्याक्टेरियाका कारण आँखा पाक्ने समस्याको समाधानमा भने उपचार नै गर्नु पर्छ।

संक्रमणका कारण

भाइरसद्वारा आँखा पाकेको छ भने यो छिटो सर्ने प्रकृतिको हुन्छ। यस रोगमा शुरुमा ज्वरो आउँने, घाँटी दुख्ने र नाकबाट पानी बग्ने हुन्छ। आँखाबाट आँशु आइरहन्छ तथा आँखामा बालुवा परे जस्तो अनुभव हुन्छ।

ब्याक्टेरियाद्वारा आँखा पाकेको छ भने पनि यो सर्न सक्ने हुन्छ। यसमा आँखाबाट पहेंलो, सेतो र हल्का हरियो रंगको पीप जस्तो बग्दछ।

कहिले जचाउने

यदि धेरै आँखा दुखाई भयो, दृष्टि कमजोर हुदै गयो, उज्यालोमा हेर्न गार्हो भयो, आँखा वरिपरिको छाला डाबर आयो भने तथा आँखा रातो हुनु सँगै लिंग वा योनिबाट सेतो पदार्थको स्राव भएको खण्डमा डाक्टरकोमा जानु पर्छ। त्यसैगरी नवजात शिशुका आँखा पाकेमा र हरेक दिन समस्या कम हुँदै नगएमा पनि डाक्टरकहाँ जानु पर्छ।

आँखामा ब्याक्टेरियाका कारण हुने सामान्य समस्या छ भने आँफै ठीक हुन्छ। यदी असामान्य छ भने आँखाका एन्टीबायोटिक मलम र झोलको प्रयोग गर्नु पर्छ।

भाइरलबाट संक्रमण भएको छ भने लक्षण हेरेर चिप्लो पार्ने औषधि, डिकन्जेस्टेन्ट र एन्टीहिस्टामिन समूहका आँखा मा हाल्ने झोल औषधिको प्रयोग गरिन्छ।

त्यस्तै एलर्जीका कारण आँखा पकेको हो भने एन्टीएलर्जी समूहका आँखामा हाल्ने झोल को प्रयोग गरेर र सम्भव भएसम्म एलर्जी गराउने कुराहरु प्रयोग नगरेर पनि समस्याबाट मुक्त हुन सकिन्छ।

सावधानी

भाइरल र ब्याक्टेरियाका कारण आँखामा भएको संक्रमण सरुवा रोग भएकाले रोगीले प्रयोग गरेका वस्तुहरु रुमाल, कपडा, ओछ्यान आदिको प्रयोग गर्नु हुदैन। बेला बेला हात–मुख धुने जस्ता काम गरेर व्यक्तिगत स्वास्थ्यको संरक्षण गर्ने।

त्यस्तै एउटा आँखाबाट अर्को आँखा मा रोग नसरोस् भन्नका लागि संक्रमित आँखामा मात्र झोल औषधि को प्रयोग गर्ने र हात राम्ररी धुने गर्नु पर्दछ।

साताकाे चर्चित
सम्बन्धित