होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण   
  होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण   

ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि उत्तम विष्टलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण गरेको हो ।    

    • Bell Sanchar

    • १० भाद्र २०७९, शुक्रबार

बाँके,
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माण गरिएको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि उत्तम विष्टलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण गरेको हो ।

विसं २०७८ साउनमा होल्डिङ सेन्टर निर्माण अघि बढाइएको थियो । होल्डिङ सेन्टर एक हजार शय्या (बेड)को रहेको छ । होल्डिङ सेन्टरको निर्माण नेपाली सेनामार्फत नै ठेकेदारलाई दिइएको थियो । ठेकेदारले काम सम्पन्न गरेर सेनालाई हस्तान्तरण गरेको हो । सेनाले उक्त संरचना सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । सहायक रथि विष्टले संरचना तयार भइसकेकाले अब स्थानीय निकाय वा प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरिने बताउनुभयो ।

सीमावर्ती जिल्ला र सुरुआती चरणको कोरोना महामारीका समयमा बाँके ‘हटस्पट’ बनेपछि बिरामी राख्ने ठाउँ नहुँदा होल्डिङ सेन्टर निर्माण अघि बढाइएको थियो ।

ज्यालामा बढोत्तरी

बाँकेमा ज्याला मजदुरी तथा श्रम गर्नेको ज्याला बढाइएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०७९÷८० का लागि दररेट निर्धारण गरेको हो ।

जिप्रका बाँकेले सार्वजनिक खरिद नियमावली, २०६४ को परिच्छेद १५ को नियम १४८ (१) बमोजिम जिल्ला दररेट निर्धारण समितिको बैठकले निर्णय गरेको आधारमा दररेट निर्धाण गरेको हो । बैठकको निर्णयानुसार, सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, रोलर र ग्रेडर अपरेटरको प्रतिदिन प्रतिव्यक्ति ज्याला रु आठ सय ४० बाट बढाएर रु नौ सय ९२ पु¥याइएको छ । बैठकले अर्धदक्ष कामदारको ज्याला रु सात सय चारबाट बढाएर रु आठ सय ३२, ज्यामीको रु पाँच सय ९० बाट बढाएर रु छ सय २६, वेल्डरको रु सात सय ९० बाट बढाएर रु आठ सय तीन तथा सहायक वेल्डरको रु छ सय ८० बाट बढाएर रु सात सय २२ ज्याला तोकेको छ ।

यस्तै कुचिकारको ज्याला रु पाँच सय २५ बाट बढाएर रु पाँच सय ५७ र चौकीदारको रु पाँच सय ९० बाट बढाएर रु छ सय २६ कायम गरिएको छ । नेपाली सिमेन्ट पिसीसीको प्रतिबोरा रु छ सय ८० र नेपाली ओपिसी सिमेन्टको प्रतिबोरा मुल्य रु सात सय ८० कायम गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित