निर्वाचन नजिकिँदै गर्दा नेपाल प्रहरीका ५ सय ३७ जना कर्मचारीलाई डेंगी संक्रमण
निर्वाचन नजिकिँदै गर्दा नेपाल प्रहरीका ५ सय ३७ जना कर्मचारीलाई डेंगी संक्रमण
    • Bell Sanchar

    • २७ आश्विन २०७९, बिहीबार

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको सुरक्षाको मुख्य जिम्मा पाएको प्रहरीका अधिकृतदेखि जवानसम्मलाई डेंगी लागेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार प्रहरी उपरीक्षक (एसपी) २ जना, प्रहरी नायब उपरीक्षक (डीएसपी) ५ जना, प्रहरी निरीक्षक (इन्स्पेक्टर) २१ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक (बसई) ८ जना, सई १८ जना, प्रहरी सहायक निरीक्षक (असई) ५० जना, प्रहरी वरिष्ठ हवल्दार २५ जना, प्रहरी हवल्दार ६९ जना, प्रहरी सहायक हवल्दार १११ जना, प्रहरी जवान २ सय ३ जना र कार्यलय सहयोगी २५ गरी ५ सय ३७ जनालाई डेंगी लागेको छ ।

डेंगी संक्रमण भएर अहिले पनि ९६ जना प्रहरी कर्मचारीहरू उपचाररत रहेका छन् । निर्वाचनको समयमा सुरक्षामा खटिने प्रहरीहरूलाई डेंगी लागेपछि कामकारवाही केही प्रभावित भएको तर त्यसलाई प्रहरीले व्यवस्थापन गरेको डीआईजी राईले बताए ।

‘बिरामी हुँदा अलिकति असर त पर्ने नै भयो तर हामीले व्यवस्थापन गरेका छौं,’ डीआईजी राईले भने ।

प्रहरीका कतिपय कमाण्ड सम्हालेका कमान्डरहरूलाई डेंगी लागेको र त्यस्ता ठाउँमा सुरक्षा व्यवस्थापन र नियमित पुलिसिङका लागि अर्को ठाउँबाट व्यवस्था गरिएको प्रवक्ता राईले बताए ।

प्रहरीले डेंगीबाट बच्नका लागि आफ्नो कार्यालय वरिपरि पानी जम्ने ठाउँ सफा गर्न, झुलको प्रयोग गर्न समेत निर्देशन गरेको छ ।

प्रहरी सेवा प्रवेशसँगै झुलको व्यवस्था हुने भएकाले थप व्यवस्था गर्नु नपरेको डीआईजी राईले बताए ।

आवश्यकताअनुसार प्रहरी कार्यालयहरूमा लामखुट्टेको असर कम गर्नका लागि लिकुइड लगायतका औषधीहरूको पनि व्यवस्था गरेको छ ।

नेपाल प्रहरी अस्पतालले प्रहरी कार्मचारीहरुलाई डेंगीबाट बच्नका लागि तालिमको समेत व्यवस्था गरेको राईले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार डेंगुबाट साउन यता ४४ जनाको मृत्यु भएको छ ।

७६ जिल्लामा फैलिएको डेंगु आजसम्म ३३ हजार ९७५ जनालाई लागिसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित