छात्रवृत्तिले बालबालिकाको पढाइ नियमित 
    छात्रवृत्तिले बालबालिकाको पढाइ नियमित 

परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उहाँलाई आर्थिक समस्या थपियो ।

    • Bell Sanchar

    • २० कार्तिक २०७९, आईतवार

सुर्खेत÷भेरीगङ्गा, 
दैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा उहाँका बुवाको मृत्यु भयो । परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उहाँलाई आर्थिक समस्या थपियो । तर पनि आमाले जेनतेन गाईभैँसी पालेर घरखर्चको जोहो गर्नुभयो । हिमा माथिल्लो कक्षामा पढ्न थाल्नुभयो, तब उहाँलाई कापी, किताब र पढाइ खर्च अभाव हुन थाल्यो । यतिसम्मकि उहाँलाई अर्थाभावकै कारण आफ्नो पढाइ छुट्ने चिन्ताले सताउन थाल्यो ।

अर्थाभावकै कारण हिमा विद्यालय छाड्ने निर्णयमा पुग्नुभयो । त्यतिबेला उहाँ ८ कक्षामा पढ्दै हुनुहुन्थ्यो । उहाँकी आमा तुलसी विक भन्नुहुन्छ, “घरमा हामी आमाछोरीमात्रै छौँ, कमाउने मान्छे नहुँदा घरखर्च चालाउनै मुस्किल छ । विद्यालय पोशाक र किताब किन्ने पैसा नहुँदा छोरीले स्कुल नै छाड्ने अवस्था आयो, गरिबलाई त पढ्न पनि सजिलो रहेनछ ।” तर अर्थावस्थाका कारण समस्या पर्नुभएकी हिमाले अहिले छात्रवृत्ति पाउन थाल्नुभएको छ । छात्रवृत्तिले गर्दा हिमाको पढाइ पनि नियमित भएको छ ।

गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा लागू भएको ‘जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम’मार्फत सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले छात्रवृत्ति उपलब्ध गराउन थालेको हो । संस्थाको पहलमा छोरीको पढाइ नियमित भएपछि हिजोआज तुलसीको अनुहारमा खुसी छाएको छ । “हामी गरिबको कोही छैनन् भन्ने लाग्थ्यो”, उहाँभन्नुहुन्छ, “छोरीको नाममा गाउँपालिका र सोसेकले रु २५ हजार रकम जम्मा गरिदिनुभएको रहेछ, त्यही पैसाको ब्याजबाट अहिले छोरीको पढाइ खर्च टरेको छ”, उहाँ अहिले १० कक्षा पढ्दै हुनुहुन्छ ।

हिमामात्रै होइन, गुराँस गाउँपालिका–४ रिठ्ठाका प्रेम मल्ल र देवीसरा मल्लका आमाबुवा दुवै हुनुहुन्न । उहाँहरु अहिले हजुरआमाको संरक्षणमा हुनुहुन्छ । उहाँहरूलाई पनि पढाइ खर्च जुटाउन हम्मेहम्मे थियो । शिक्षामा लाग्ने सबै खर्च जुटाउने माध्यम केही थिएन । अनि जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रममार्फत प्रेम र देवीसरा पनि छात्रवृत्तिका लागि छनोटमा पर्नुभयो । सहकारीमा जम्मा भएको रु २५–२५ हजार रकमबाट आउने ब्याजले हिजोआज उहाँहरुको पढाइ खर्च जुटेको छ । अर्थाभावकै कारण पढाइ पूरा गर्न सकिन्न कि भन्ने चिन्ता अहिले हटेको छ ।

प्रेम अहिले १० कक्षामा पढ्नुहुन्छ भने देवीसरा ८ कक्षामा पढ्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “देख्दा सानो रकम लाग्ला, तर यसले हाम्रो पढाइ नियमत भएको छ ।” आफूहरूको २५ हजार रकम सहकारीमा जम्मा भइरहेको जनाउँदै उमेरले २० वर्ष पुगेपछि उक्त रकम पाउने प्रेम बताउनुहुन्छ । गुराँस गाउँपालिकाले विसं २०७६ मा ल्याएको जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । हाल गाउँपालिकाका आठवटै वडाका सात सय ६७ जना जोखिम तथा असहाय बालबालिका यो कार्यक्रमबाट लाभान्वित भएका छन् । जसमध्ये तीन सय ८७ बालिका र तीन सय ८० बालक रहेको सोसेक नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले जानकारी दिनुभयो ।

बालविवाह न्यूनीकरणमा सहयोगी

जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम गाउँपालिकाका तत्कालिन अध्यक्ष खेमराज ओलीले कार्यान्वयनमा ल्याउनुभएको थियो । उक्त कार्यक्रमबाट दुईवटा उद्देश्य राखिएको जनाइएको छ । उहाँ भन्नुहुन्छ, “यो कार्यक्रम दुई उद्देश्य राखेर हामीले ल्याएका थियौँ, पहिलो आमाबुवा नभएका, जोखिममा रहेका बालबालिका अर्थाभावकै कारण शिक्षाबाट बञ्चित नहुन् भन्ने थियो भने अर्को भने बालविवाह न्यूनीकरण गर्नु थियो ।”

कार्यविधि नै तयार गरेर गाउँपालिकाको तर्फबाट रु १५ हजार, सेभ द चिल्ड्रेन र सोसेक नेपालको सहयात्रा कार्यक्रमबाट रु १० हजार गरी एक बाबालिकाको नाममा रु २५ हजार रकम सहकारीमा जम्मा गर्ने गरिएको छ । उक्त रकमबाट आएको ब्याज ती बालबालिकाको शिक्षाका लागि दिइने गरिएको छ । बाँकी सावाँ रकम बालबालिका २० वर्ष भएपछि मात्रै दिइने कार्यविधिमा उल्लेख छ । २० वर्ष नहुँदै उक्त बालक अथवा बालिकाले विवाह गरेको खण्डमा त्यो रकम नदिइने शर्त राखिएको छ । गुराँस कृषि लघुवित्त सहकारीका अध्यक्ष जगत बिसीले कार्यक्रमले बालविवाह न्यूनीकरण गर्न सहयोग मिलेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बालबालिकाको उक्त रकम सस्तो ब्याजदरमा उद्यमीलाई लगानी गर्ने गरिएको छ । उहाँ भन्नुहुन्छ, “बालबालिकाका लागि दिइने रकम हाम्रो सहकारीमा जम्मा गरिदिएका छौँ, हामी बालबालिकालाई वार्षिक १२ प्रतिशत ब्याज दिन्छौँ । उक्त रकम विभिन्न उद्यमी गर्नेले ऋण लिनुहुन्छ, एकातिर बालबालिको शिक्षामा पनि पहुँच बढेको छ भने अर्कातिर उद्यम गर्नेहरू पनि बढ्नुभएको छ ।” यो कार्यक्रमले बालविवाहसमेत न्यूनीकरणमा सघाउ पुगेको उहाँको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित