डोटीका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाको सहयोग   
डोटीका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाको सहयोग   

गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले छ जनाको ज्यान गएको थियो

    • Bell Sanchar

    • ४ पुष २०७९, सोमबार

काठमाडौँ,
डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

काठमाडौँ महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको हो । गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले छ जनाको ज्यान गएको थियो भने तीन हजार आठ सय घरटहरा भत्किएका थिए ।

काठमाडौँ महानगरपालिकामा डोटीका भूकम्पपीडितका लागि सहयोगको अनुरोध गरिएपछि महानगरबाट विपद् व्यवस्थापनअन्तर्गतको बजेटबाट गाउँपालिकालाई रु १० लाख सहयोग उपलब्ध गराइएको महानगर प्रमुख बालेन शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपीडितका समस्याका विषयमा हामीले जानकारी पायौँ र केही रकम आर्थिक सहयोग गरेका छौँ, आशा छ हाम्रो सहयोगले पीडितका समस्या केही हदसम्म भए पनि समाधान हुने छन् ।”

उक्त आर्थिक सहयोग पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायमार्फत हस्तान्तरण गरिएको काठमाडौँ महानगर पालिकाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित