सरकारसँग राप्रपा अध्यक्ष लिङ्देनको माग, सुरक्षित हवाई यात्राबारे प्रष्ट योजना ल्याउन
सरकारसँग राप्रपा अध्यक्ष लिङ्देनको माग, सुरक्षित हवाई यात्राबारे प्रष्ट योजना ल्याउन
    • Bell Sanchar

    • २ माघ २०७९, सोमबार

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुरक्षित हवाई यात्राबारे प्रष्ट योजना ल्याउन सरकारसँग माग गरेका छन्।

उनले हवाई सुरक्षाकै कारण पर्यटनमा पर्ने नकारात्मक असरबारे गम्भीर बन्न पनि सरकारलाई आग्रह गरेका छन्।

‘सुरक्षित हवाई यात्राको विषयमा प्रष्ट योजना ल्याउन र हवाई सुरक्षाकै कारण पर्यटनमा पर्ने नकारात्मक असरबारे गम्भीर बन्न नेपाल सरकारको अग्रसरताको अपेक्षा राखेको छु,’ शोक विज्ञप्ति निकालेर उनले उल्लेख गरेका छन्।

काठमाडौंबाट पोखरातर्फ उडान गर्दै गरेको यति एयरलाइन्सको जहाज आइतबार पोखरामा दुर्घटनामा परेको थियो। सरकारले यसबारे अध्ययन गर्न समितिसमेत गठन गरेको छ।

‘पोखरा विमान दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगले प्रभावकारी काम गर्ने विश्वास राखेको छु,’ लिङ्देनले भनेका छन्, ‘मृतकका शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु। दुर्घटनाबाट अत्यन्तै दुखित र मर्माहत भएको छु।’

उनले नेपालको आन्तरिक उडानकै सबैभन्दा ठूलो मानवीय क्षति हुने गरी भएको दुर्घटनामा परी ज्यान गुमाउन पुगेका चालक दलका सदस्यसहित दिवंगत यात्रुहरुप्रति श्रद्धाञ्जली अर्पणसमेत गरेका छन्।

‘नेपाली आकाशमा बारम्बार भइरहेको दुर्घटनाको कारणहरुको विस्तृत अध्ययन, अनुसन्धान गर्न साथै आगामी दिनमा दुर्घटना न्यूनीकरणका उपाय अबलम्बन गर्न सम्बन्धित पक्षको गम्भीरता, संवेदनशीलता र तदारुकता जरुरी छ,’ उनले भनेका छन्।

 

साताकाे चर्चित
सम्बन्धित