शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी : पूर्वअध्यक्ष रेग्मी
शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी : पूर्वअध्यक्ष रेग्मी
    • Bell Sanchar

    • ३ चैत्र २०७९, शुक्रबार

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताउनुभएको छ ।

फोकस नेपालको दशौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले समृद्ध राष्ट्र निर्माण गर्न शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताउनुभयो ।

“आजको हाम्रो शिक्षा प्रणाली विद्यार्थीलाई स्वनिर्भर हुन होइन परनिर्भर हुने, रोजगारी खोज्ने गरी दीक्षित बनाइएको छ, विश्व बजारमा रोजगार खोज्ने शिक्षाले देशको आत्मनिर्भरता र विकास हुन सक्दैन”, उहाँले भन्नुभयो । पूर्वअध्यक्ष रेग्मीले सिर्जनशील र सीपमूलक जनशक्ति विना देशको समग्र विकास र समृद्धिको यात्रा पूरा हुन नसक्ने उल्लेख गर्दै सरकारले व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

सरकार स्थिर नहुँदा शिक्षालगायत हरेक क्षेत्रमा समस्या उत्पन्न भएको उहाँको भनाइ थियो । मूल नीति र व्यवहार स्थिररूपमा लक्षित गन्तव्यतर्फ गतिमान भए मात्र शिक्षालगायतका अन्य क्षेत्रको विकास एवं समृद्धिको यात्रा सुगम र अपेक्षित हुने उहाँले बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षालाई सुधार्न नसकेसम्म देश अगाडि बढ्न नसक्ने बताउनुभयो ।

“त्रिभुवन विश्वविद्यालयले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्छ, विश्वविद्यालयमा क्यालेण्डर प्रणाली लागू गरे मात्र देशको शिक्षा क्षेत्रले फड्को मार्न सक्छ”, उहाँले भन्नुभयो । उहाँले देशमा १६ विश्वविद्यालय भएको बताउँदै खोलिएका विश्वविद्यालयलाई विशिष्टीकृत बनाएर अगाडि बढाए देशको शिक्षा क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

कक्षा ११ र १२ पढाउने शिक्षकको अभाव देशमा भएको उहाँको भनाइ थियो । उहाँले शिक्षण सिकाइमा सुधार, शिक्षकको दरबन्दीलाई व्यवस्थित र भौतिक पूर्वाधारमा सुधार गर्नसके देशको शिक्षा क्षेत्र अगाडि बढ्ने बताउनुभयो ।

शिक्षक सेवा आयोगलाई सक्रिय बनाउनुपर्ने उहाँको भनाइ थियो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सामाजिक क्षेत्रमा क्रियाशील फोकस नेपालले ‘समृद्धिका लागि सामाजिक अभियान’ लाई अगाडि बढाएको बताउनुभयो । फोकस नेपालको दशौँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मीसहित सञ्चारकर्मी र सामाजिक व्यक्तित्वलाई सम्मान गरिएको छ ।

सोही अवसरमा राससकर्मी रेग्मीसहित न्यूज एजेन्सी नेपालका समचारदाता विक्रम रत्न, महेन्द्र मोरङ क्याम्पसका सहप्राचार्य उद्धवप्रसाद पौडेल, शिक्षाविद् विजयराज पन्त, पुष्पराज बडाल, भुवनराज श्रेष्ठ, रामचन्द्र देवकोटा, इञ्जिनीयर विजेन्द्र गौतमलाई सम्मान गरिएको हो ।

साताकाे चर्चित
सम्बन्धित