पाठेघर मुखको क्यान्सर विरुद्धक लगाइने एचपीभी खोप नेपाल आइपुग्यो
पाठेघर मुखको क्यान्सर विरुद्धक लगाइने एचपीभी खोप नेपाल आइपुग्यो
    • Bell Sanchar

    • १९ असार २०८०, मंगलवार

काठमाडौं ।

पाठेघर मुखको क्यान्सर विरुद्धक लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको हो ।

‘२० हजार भाइल एचपीभी खोप आज नेपाल आइपुगेको छ । सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने छ,’ डा. चौरासियाले भने, ‘अहिले पाइलट प्रोजेटको रूपमा लगाउने हो । कहाँ–कसरी लगाउने भन्ने बिषयमा छलफल चलिरहेको छ ।’

चिकित्सकहरूका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ । र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।

महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागेको हो ।

एक नयाँ अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकलाल कर्णका अनुसार खोप कार्यक्रम कहाँ सञ्चालन गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयलाई निर्देशनका लागि पत्र पठाएको र केही दिनभित्र निर्णय हुनेछ ।

महाशाखाका अनुसार ९ देखि १४ वर्ष उमेर समूहका बालिका १५ लाखको हाराहारीमा छन् । अहिले खरिद गर्न लागिएको २० हजार भाइल खोप १० हजार बालिकालाई दिन पुग्छ । खोप केही मात्रामा खेर जानसक्ने भएकाले ९ हजार हाराहारी बालिकालाई खोप दिन सकिने परिवार कल्याण महाशाखाको अनुमान छ ।

‘एचपीभी खोप हामीले विद्यालयस्तरमा सञ्चालन गर्छाैं’ परिवार कल्याण महाशाखाका प्रमुख डा. कर्ण भन्छन्, ‘पहिलो पटक खोप लगाउन लागिएकाले सुरक्षित छ भनेर अभिभावकलाई बुझाउन पनि जरूरी हुन्छ । त्यसका लागि स्थानीय तहसँग समन्वय गर्छौं ।’

नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ । चिकित्सकका अनुसार सानै उमेरदेखि असुरक्षित यौनजन्य क्रियाकलापमा सक्रिय हुनु, धेरै बच्चा जन्माउनु, धेरै जनासँग यौनसम्पर्क गर्नु र सरसफाइको कमीले एचपीभी भाइरस संक्रमण हुन्छ ।

साताकाे चर्चित
सम्बन्धित