छाला चाउरी पर्नुको कारण र जोगाउने उपाय
छाला चाउरी पर्नुको कारण र जोगाउने उपाय
    • डा. विकास पौडेल

    • ३२ श्रावण २०८०, बिहीबार

छालाको प्रकृतिअनुसार यसलाई चार प्रकारमा विभाजन गरिएको छ । सुख्खा, तैलिया (चिल्लो), कम्बिनेसन (सुख्खा र चिल्लोको सम्मिश्रण) र संवेदनशील । यसमध्ये सबैभन्दा समस्या देखिने सुख्खा र संवेदनशील छालामा हो ।

सुख्खा छालामा चिलाउने, चाँडै एलर्जी हुने र अन्य समस्या आउँछ । संवेदनशील छालामा चायापोतो आउने जोखिम बढी हुन्छ ।  तैलिया वा चिल्लो छालामा पनि समस्या नहुने होइन । यस्तो छालामा डन्डीफोर आउने सम्भावना बढी हुन्छ । यद्यपि यसमा चिल्लोपन निकाल्ने ग्रन्थि बढी हुने भएकाले छाला मुलायम पनि देखिन्छ ।

त्यसो त छालाको प्रकृति फरक-फरक हुनुमा मौसम र वातावरणको पनि भूमिका हुन्छ । गर्मी मौसममा प्राय: छाला चिल्लो वा तैलिया हुन्छ भने जाडोयाममा सुख्खा हुन्छ ।

कस्तो क्रिम लगाउने ?

सामान्यतया सुख्खा छालामा सन प्रोटेक्सन क्रिम लगाए हुन्छ । चिल्लो छालाका लागि जेल वा चिल्लो कम भएको छिटो सुक्ने खालको मोइस्चराइजर छनोट गर्न सकिन्छ । यसमा धेरै मोइस्चराइजर प्रयोग गर्नुपर्दैन । त्यस्तै सुख्खा र चिल्लो दुवै (कम्बिनेसन) छालामा त्यसको आवश्यकताअनुसार मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । यद्यपि सबैको छाला एउटै प्रकारको हुँदैन । मुख्यतः यसमा छालारोग विशेषज्ञलाई जाँच गराएर क्रिम वा मोइस्चराइजरको प्रयोग गर्दा उत्तम हुन्छ । किनकि एक व्यक्तिलाई उपयुक्त भएको क्रिम अर्को व्यक्तिलाई अनुपयुक्त हुन सक्छ ।

त्यसैले जथाभावी क्रिमहरुको प्रयोगले छालाको असली स्वरुप परिवर्तन हुनुका साथै छाला पातलो हुने रिंकल पर्ने बिमिरा देखिने हुन्छ । त्यसकारण क्रिमको प्रयोग गर्नुपूर्व हामीले आफ्नो छालासँग मिल्ने अनि अवश्यकताअनुसारको छनोट गर्नुपर्छ ।

छालामा साबुनको प्रयोग    

सामान्यतया छालाको प्रकृतिअनुसार साबुन प्रयोग गर्न सकिन्छ तर जथाभावी छालामा साबुनको प्रयोग उचित हुँदैन । किनकि यसले छालामा समस्या निम्त्याउन सक्छ । त्यसैले सकेसम्म छाला विशेषज्ञलाई जाँच गराएर मात्र त्यहीअनुसार साबुनको प्रयोग गर्नु उचित हुन्छ । जस्तै यदि सुख्खा छाला छ भने त्यसमा जथाभावी साबुन प्रयोग गरिएमा छाला झन् रुखो हुन सक्छ । यसले छाला छिट्टै नै चाउरिने जोखिम पनि हुन्छ ।

संवेदनशील छालामा जथाभावी साबुन प्रयोग गर्दा विभिन्न खालका छालाका समस्या निम्त्याउने सम्भावना हुन्छ । त्यसैले यसबाट बच्नका लागि आफ्नो छालाको प्रकृति थाहा पाएर मात्र त्यही अनुसार उचित साबुन छनोट गर्नुपर्छ ।

सम्भव भएसम्म अनुहारमा साबुनको प्रयोग नगरेकै राम्रोहुन्छ । धेरै रसायनयुक्त साबुनले नराम्रो असर गर्न सक्छ ।

छाला चाउरी

छालामा दुई कारणले चाउरी पर्छ, क्रोनोलोजिकल र फोटो एजिङ । उमेर बढ्दै जाँदा शरीरमा छाला तन्काउने तन्तु कमजोर हुँदै जान्छ, जसलाई क्रोनोलोजिकल एजिङ भनिन्छ । घाममा धेरै हिंड्ने वा बाहिर घाममा धेरै काम गर्नेलाई पनि छाला चाँडै चाउरी पर्ने गर्छ, जसलाई फोटो एजिङ भनिन्छ । यो कम उमेरका व्यक्तिमा देखिने समस्या हो । यो मानसिक तनाव र घाममा धेरै काम गर्ने मानिसलाई हुन्छ ।

यसबाहेक शरीरमा पानीको कमी, पोषक तत्वको कमी (भिटामिन ए, सी प्रोटिन), अत्यधिक धुम्रपान र मद्यपान सेवन, थाइराइड हार्मोनको उतारचढावलगायत कारणले पनि हुन सक्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. पौडेल पाटन अस्पतालमा कार्यरत छन् । 

अनलाइनखबर

साताकाे चर्चित
सम्बन्धित