एनआरएनए आईसीसी उप महासचिवमा सापकोटाले उम्मेदवारी दिदै
एनआरएनए आईसीसी उप महासचिवमा सापकोटाले उम्मेदवारी दिदै
    • Bell Sanchar

    • १२ आश्विन २०८०, शुक्रबार

काठमाडौं ।

आशा लाग्दा सोमनाथ सापकोटा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) को आउँदो एघारौं महाधिवेशनमा २०२३ – २०२५ कार्यकालका लागि हुने निर्वाचनमा सोमनाथ सापकोटाले उपमहासचिव पदमा उम्मेदवारी दिदै छन् ।

यतिबेला आफनो पक्षमा माहोल बनाउन एनआरएनएका अभियन्ताहरु विश्वभर प्रचारप्रसारदेखि उम्मेदवारी घोषणालाई तीव्र बनाईरहेका छन् । यहि बेला हाल एनआरएनए आईसीसी प्रवक्ता रहेका सापकोटा चुनावको माहोलका बीच संगठनलाई चुस्त र चलायमान बनाउनमा व्यस्त छन् । विश्वभरका गैरआवासीय नेपालीलाई एकताबद्ध गर्ने र संगठनसँग जोड्दै भाइचारालाई बलियो बनाउने कार्यमा सक्रिय रहदै आएका सापकोटालाई आशा लाग्दा उम्मेदवारका रुपमा पनि हेरिएको छ ।

स्वभावैले भद्र, मिलनसार एवम् मृदु सोम प्रसाद सापकोटा आँखामा राख्दा पनि नबिझाउने प्रकृतिका साथै सबैको भलो चिताउने भएकाले पनि अरु अभियन्ताहरुका लागि प्रिय बन्दै आएका छन् । फरासिला र हसिला सापकोटाले एनआरएनएभित्र उस्तै दर्विलो जनसम्पर्क कायम राखेका छन् । तसर्थ पनि सापकोटा विश्वासिला र निकै सशक्त उम्मेदवार रहेको चर्चा हुँदै आएको एनआरएनए अभियन्ताहरु बताउँछन् । हरेक जसो सदस्यसँग व्यक्तिगत सम्पर्कमा रहीरहने साथै मुद्दामा गम्भीर छलफल र निष्कर्ष निकाल्नका लागि माहिर उनी गैर आवासिय नेपाली संघका गतिविधि बारे गहिरो जानकारी साथै अभियन्ताहरु माझ सु-सम्बन्ध भएका थोरै व्यक्तिहरु मध्येमा पर्दछन् । सबै खाले एनआरएनए अभियन्ताहरुले रुचाइएको पात्र मध्येमा आफु पर्ने सापकोटा स्वयंको बुझाई छ । आफु चौतर्फी समन्वयकारी भूमिकामा रहदै आएकाले पनि आफनो पक्षमा राम्रो माहोल रहेको र उपमहासचिव पदमा जित सहज हुने निष्कर्ष सापकोटाको रहेको छ ।

सोम प्रसाद सापकोटाको व्यक्तिगत चिनारी

सोमनाथप्रसाद सापकोटा एक जुझारु एनआरएनए अभियन्ता हुन । संघको स्थापना काल देखी नै उनी एकता अभियानमा सकृय छन् । विदेश बसाइको २८ वर्षको अवधि पार गरेका सापकोटाले यस अवधिमा जिविका एवम् व्यवसायिक कर्मको सिलसिलामा आधा दर्जन हाराहारीको युरोपेली देशमा बसोबास गरेका छन् । तसर्थ पनि त्यहाँको वातावरणसाथै नेपाली समुदायको बारेमा उनी नजिकबाट परिचित छन् । सापकोटा सन् १९९६ मा नेपालबाट अवसरको खोजीमा स्ट्जिरल्याण्ड पुगेका थिए । त्यहाँ एक वर्ष बसेपछि उनी जर्मनी बसाइँ सरे । त्यहाँ पनि दुई वर्षको बसाईलाई बिट मार्दै हल्याण्ड हानिए । छोटो समय हल्याण्ड रहँदै पछि उनी बेल्जियम पुगे । बेल्जियम हुँदै १९९९ को अप्रिलदेखि पोर्चुगलमा बस्न थाले उनी । आफु जुन देश पुगे पनि नेपाल र नेपाली समूदायको पक्षमा खुलेर लागिपरेको सापकोटा बताउँछन् । आफु पोर्चुगल पुग्ने १३ औँ नम्बरको नेपालीको रुपमा रहेको रोचक प्रसंग समेत उनले सुनाए । पोर्चुगलमा अहिले नेपालीहरु ७० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

पोर्चुगलमा उनले नेपाल फ्रेण्डसिप एसोसिएसन गठन गरेर नेपाल र पोर्चुगललाई जोड्ने काम गरे । यसैगरी गैरआवासीय नेपाली संघ, जनसम्पर्क समिति, नेपाली समाज पोर्चुगल लगायतमा संलग्न रहदै सामाजिक गतिविधिमा व्यस्त रहे। उनी सक्रियताका साथ नेपाली समुदायको उत्थानमा लागिपर्दै गए । अनवरत खटिदै खटिदै उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भए । फेरी पालो आयो पोर्चुगल छाडने । यहि सिलसिलालाई पछ्याउने क्रममा २००९ मा उनी डेनमार्क पुगे । उनले एनआरएनए डेनमार्कलाई जन्माउँदै अध्यक्ष बने । त्यहाँ पनि उस्तै अमिट केही काम गर्न सफल गरे । त्यसमध्ये कोप १५ मा सक्रियतासाथ नेपाललाई विश्वसामू चिनाउन पनि एक हो । यसका निम्ती सापकोटाले नेतृत्वदायी भूमिका खेलेका थिए । सो क्रममा उनले नेपाल पर्यटन बोर्डको प्रतिनिधि भएर नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका समेत खेलेका थिए । डेनमार्कमा ७ वर्ष बिताए पस्चात सोही समयमा उनले स्वीडेन र चेकरिपब्लिकमा राष्ट्रिय समन्वय समिति गठन गरेका थिए ।

यस्तै थप अवसर र पारिवारिक दायित्व पुरा गर्ने क्रममा २०१७ मा बेलायत पुगे । बेलायतका साथसाथै व्यवसायको सिलसिलामा २०२० मा माल्टा पुगेका उनले आफ्नै सक्रियतामा एनआरएनएको राष्ट्रिय समन्वय समिति बनाए । यसरी उनले जहाँ नेपाली त्यहाँ गैरआवासीय नेपाली संघ भन्ने नारा अनुरुप वस्तुनिष्ठ तबरले काम गरे । त्यसो त सोही क्रममा उनले माल्टा र नेपाललाई जोड्नका लागि माल्टा नेपाल चेम्बर अफ कमर्स गठन गरेर दुई देशबीचको व्यापारलाई जोड्नका लागि समन्वयकारी भूमिका खेले । यस्तै माल्टा नेपाल फ्रेण्डसिप एसोसिएसन गठन गरेर समग्र देशलाई नै जोड्ने काम गरेबापत उनलाई नेपाल पर्यटन बोर्डले माल्टाको मानार्थ जनप्रतिनिधि नै चयन गरेको थियो । छोटो समय माल्टा बसाइका क्रममा उनले नेपाल र माल्टाको सम्बन्ध सुधारमा सकारात्मक भूमिका खेल्दै भिजिट नेपाल २०२० का लागि विभिन्न कार्यक्रमहरु आयोजना समेत गरेका थिए । विभिन्न देशमा रहँदा उनले पर्यटनसँग सम्बन्धित संगसंगठनहरु, एनजीआई तथा आईएनजीओसँगको सम्बन्ध र नेपालमा पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

भिजिट नेपाल २०११ मा महत्त्वपूर्ण योगदान गरेका सापकोटा भिजिट नेपाल युरोप क्याम्पेन २०१७ को सह संयोजक भएर काम गरे । भूकम्प, नाकाबन्दी साथै कोभिडको चपेटामा परि सिथिल पर्यटनलाई माथि उठाउन पनि उनले भूमिका खेलेका छन् । नेपाल सुरक्षित गन्तव्य हो भनि विश्वलाई सन्देश दिने मामलामा उनी एक कदम अगाडि नै छ भन्दा अतियुक्ती समेत हुने छैन् । यसरी उनले विदेशमा रहेर नेपाललाई विश्व सामु जोड्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । नेपाली उत्पादनलाई युरोप क्षेत्रमा लगेर बजारीकरण गर्न पनि उनको भूमिका रहेको छ । गोल्डेन एभरेस्ट मिनीमार्टलगायतका व्यवसाय सञ्चालन गरेर नेपालको प्रोमोसन गर्दै नेपालका उत्पादनलाई बेच्न उनले भूमिका खेलेका छन् ।

पछिल्लो समय बेलायतलाई कर्मभूमि बनाएर विश्वभर आफ्नो जनसम्पर्क बढाउन सफल सापकोटा २०२२ मा मन्त्रिपरिषद्को निर्णयअनुसार वेल्सका लागि नेपालको टुरिजम सद्भावना राजदूत नियुक्त भएका थिए । २८ वर्षे प्रवास बसाइमा उनी जहाँ जहाँ पुगे सो देशका स्थानीय सरकार, मिडिया, गैरआवासीय नेपाली, सामाजिक संघसंस्था, एनजीओ तथा आईएनजीओ, उद्योगीलगायतसँग समन्वय गर्दै नेपालसँग निरन्तर जोडिने प्रयास गरिरहे । यतिमात्रै होइन उनले भारतमा रहेको करिब ५० लाख नेपाली समूदायलाई समेत कुनै न कुनै माध्यमबाट एनआरएनएमा जोड्नुपर्छ भन्ने उद्देश्यसहित पहलकदमी लिँदै आएका छन् । यस्तै विश्वका विभिन्न देशभा रहेका गैरनेपाली तर नेपालीभाषीहरुलाई समेत कहीँ न कहीँ नेपालसँग जोड्ने र दोस्रो पुस्तालाई फ्री भिसामार्फत अध्ययन तथा अवसरका लागि नेपाल ल्याउनपर्छ भन्ने मान्यता उनको रहिआएको छ । त्यसका लागि प्रययत्नशील रहेका सापकोटा कुनै पनि किसिमले नेपालीलाई हित हुने गरी अभियान सञ्चालन हुनुपर्ने धारणा राख्छन् ।

गोरखा सैनिकका साथै सिंगापुर पुलिसमा रहेका नेपालीलाई पनि एनआरएनएले कुनै न कुनै ढंगले जोड्नुपर्ने उनको धारणा छ । उनी भन्छन्, ‘अवसरको खोजीमा विश्वका जुनसुकै देशमा रहेता पनि नेपाली मूलका नेपालीभाषीहरुलाई कुनै न कुनै प्रक्रियाबाट जोडनुपर्छ ।’ उनले अगाडि भने, ‘उनीहरुको समस्या गैरआवासीय नेपालीले समाधान गर्न पहलकदमी लिने, साथसाथै उनीहरुको भावना, पुँजी र सिप देश विकासमा लगाउन बिलम्ब गर्नु हुँदैन।’ नेपालमा राजनीतिक दल, दलका नेताका साथै सामाजिक संघसंस्था र कर्मचारी प्रशासनसम्मसमेत उनको राम्रो सम्बन्ध छ । जनसम्पर्ककै कारण नेपाल र विश्वभरका एनआरएनएमाझ खास अर्थात ‘उम्दा’पहिचान बनाउन सफल छन् अभियन्ता सापकोटा । त्यसो त अन्तरराष्ट्रिय सामाजिक संघसंस्थाहरुमा समेत आबद्ध भएका उनी लायन्स क्लब अफ इन्टरनेशनलमा आबद्ध रही लायन्सहरुलाई पनि नेपालको विकासमा सामाजिक कर्ममार्फत जोड्ने कार्यमा संलग्न छन् ।

सबैसँग निकट सम्बन्ध राख्दै नेपालको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएका सोमनाथ सापकोटाले आफु एनआरएनए अभियानमार्फत नेपाली समुदायको हकहित तथा राष्ट्र विकासमा सकृय रहिरहने वचनबद्धता व्यक्त गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित