न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न निर्देशन     
न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न निर्देशन     
    • Bell Sanchar

    • २८ आश्विन २०८०, आईतवार

काठमाडौँ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउन सामूहिक प्रतिबद्धता जरुरी भएको बताउनुभएको छ । उच्च अदालत पाटनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले न्यायालयप्रतिको आस्था वृद्धि गर्न न्याय सेवा प्रवाह छिटोछरितो हुनुपर्नेमा जोड दिनुभयो ।

“भौतिक सुविधाका साथै न्यायालयमा सेवाग्राहीको सहज पहुँच हुनुपर्छ”–प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “नयाँ भवनको उपयोगसँगै अदालतको काम कारबाही उपभोक्ताको लागि सहज हुने र न्यायापालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।”

न्यायालयको सुधारमा निरन्तर लागिरहेको र दुई वर्ष पुराना मुद्दा किनारा लगाउने उद्देश्यले अभियानकै रुपमा काम गरिरहेको प्रधानन्यायाधीशले बताउनुभयो । “न्यायालयको सुधारका लागि निरन्तर प्रयास भइरहेको छ, रिक्त भएका तीनवटै तहका न्यायालयमा न्यायाधीश नियुक्ति प्रक्रिया प्रारम्भ भएको छ,” उहाँले भन्नुभयो । सेवाग्राहीलाई गुणस्तरीय सेवा दिएर न्यायसम्पादनलाई प्रभावकारी बनाउदै न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न उहाँले निर्देशन दिनुभयो ।

त्यस अवसरमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीश डा आनन्दमोहन भट्टराई र सपना मल्लप्रधान, उच्च अदालतका पाटनका कायममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शङ्कर खत्री र पाटन बार एशोसिएशनका अध्यक्ष शान्तिराम खतिवडाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त भवन रु ५८ करोडको लागतमा बनेको हो । भवनमा १२ वटा इजलास कक्ष, न्यायाधीशका लागि २३ वटा कोठाको व्यवस्था गरिएको छ । भवनको २०७२ चैत १० गते तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले शिलान्यास गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित