आधुनिक सहरको कामले गति लिँदै      
 आधुनिक सहरको कामले गति लिँदै      
    • Bell Sanchar

    • ११ पुष २०८०, बुधबार

महेन्द्रनगर

कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई आधुनिक सहर बनाउने लक्ष्यसहित सुरु गरिएको सडकलगायत पूर्वाधार निर्माणको ८५ प्रतिशत काम सकिएको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा तीन वर्षअघि देखि महेन्द्रनगर बजारका सडक, यहाँस्थित एयरपोर्ट रोड, सडक पेटी, नाली, फुटपाथ, साइकल लेन र पार्किङ लगायतको निर्माणका लागि रु एक अर्बमा ठेक्का भएको थियो ।

आधुनिक सहर निर्माणको जिम्मेवारी पाएको जेडआइसी–लामा जेभीले निर्माण अन्तिम चरणमा पुगेको र केही प्रक्रियागत अल्झन्का कारण मात्रै ढिलाइ भएको जनाएको छ । उक्त योजनाअन्तर्गत महेन्द्रनगर बजार र आसपासको क्षेत्र गरी १४ किलोमिटर सडक कालोपत्र, २२ किलोमिटर नाली, फुटपाथ लगायतका संरचना निर्माणको काम रहेको थियो ।

जेडआइसी–लामा जेभीका इन्जिनियर भूपेन्द्रबहादुर सिंहले मदनचोक क्षेत्रको सडकमा पर्ने २१ वटा सटर खाली गराउनुपर्ने र बजार क्षेत्रमा बिजुलीका पोल सार्ने कामको ढिलाइले निर्माणको अवधि लम्बिएको बताउनुभयो । “बिजुलीका पोल सार्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, भीमदत्त नगरपालिकाले सडक हटाउन पनि पहल गरेको छ ।” उहाँले भन्नुभयो, “त्योबाहेक अधिकांश काम अन्तिम चरणमा रहेको छ ।”

यता भीमदत्त नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा प्राप्ति गर्न नसक्दा उक्त शीर्षकको बजेट भने फिर्ता गएको छ । नगरपालिकाले प्रशोधन केन्द्रका लागि जग्गा खोजबिन गरे पनि केही स्थानमा स्थानीयवासीको अवरोधपछि सो विषयले सार्थकता पाउन सकेको छैन । नगरपालिकाका प्रवक्ता महेन्द्र पाण्डेयले एसियाली विकास बैङ्कको सहयोगमा महेन्द्रनगरमा थप पाँच किलोमिटर सडक निर्माण हुने बताउनुभयो ।

“दोस्रो चरणका लागि सडक छनोटका कार्य नगरपालिकाले गरिसक्यो,” उहाँले भन्नुभयो, “सो विषय नगरपालिकाले एडिबीलाई निर्णय गरेर प्रदान गरिसकेको छ ।” उहाँले फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा खोजिएको स्थानमा स्थानीयवासीले विरोध गर्दा समस्या भएको बताउनुभयो ।

एसियाली विकास बैंकले सुदूरपश्चिमका चारवटा पालिकालाई छनोट गरी आधुनिक सहर निर्माणलाई अघि बढाएको छ । जसमा कैलालीको धनगढी उपमहानगरपालिका, अत्तरिया नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा निर्माणकार्य भइरहेको छ । योजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा फोहरमैला प्रशोधन निर्माणका लागि स्थान उपलब्ध गराइए पनि वन लगायतको प्रक्रियागत कारणले निर्माण व्यवसायीले प्रशोधन केन्द्रको काम गर्न पाएको छैन । अत्तरिया र शुक्लाफाँटा नगरपालिकामा भने प्रशोधन केन्द्रको निर्माण धमाधम भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित