घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि
घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि
    • Bell Sanchar

    • २३ बैशाख २०८१, आईतवार

कञ्चनपुर

शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा रहेको छ । मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मतसम्भार नहुँदा जोखिम बढेको हो ।

रु छ हजार पाँच सय मासिक भाडा दिनेगरी २५ मिटर अग्लो टावर निर्माण गरिएको घरधनी भट्टले बताउनुभयो । उहाँले प्रत्येक वर्ष १० प्रतिशत भाडा रकमवृद्धि गरेर दिने सहमतिका साथ टावर निर्माण गरिएको १४ वर्ष भए पनि सुरूका तीन वर्षपछि कम्पनी नै सम्पर्कविहीन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार टावर राखेदेखि मर्मतसम्भार नहुँदा टावरका नटबोल्ट खुकुलो भएर जोखिम बढेको छ भने अर्थिङ गर्न राखिएको तार चोरी भएको छ । “चट्याङ पर्ने सम्भावना पनि उत्तिकै छ । हावाहुरीको समयमा त टावर निकै हल्लिने गरेकाले बजार क्षेत्रका तीन घरसहित सडकमा हिँड्ने यात्रुलाई पनि कतिबेला के हुने हो भन्ने चिन्ता छ”, भट्टले गुनासो गर्नुभयो ।

लामो समयदेखि कम्पनीबारे सोधपुछ गर्दा कार्यालय र सम्बन्धित कोही व्यक्ति नभेटाएपछि जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराउँदा पनि समाधान हुननसकेको उहाँले बताउनुभयो ।
टावरसँगै घरमा भाडामा लिएको एउटा कोठामा दुईवटा वातानुकूलित (एसी) र ८० भन्दा बढी ब्याट्री अलपत्र अवस्थामा छन् । टावरका लागि प्रयोग भइरहेको विद्युत्को महसुल रु तीन लाख पुग्दा पनि भुक्तानी नभएकाले नेपाल विद्युत् प्राधिकरणले विद्युतलाइनसमेत काटिदिएको छ ।

साताकाे चर्चित
सम्बन्धित