स्थानीय तहबीच सहकार्य जरूरी छ विपद् व्यवस्थापनमा
स्थानीय तहबीच सहकार्य जरूरी छ विपद् व्यवस्थापनमा
    • Bell Sanchar

    • २४ बैशाख २०८१, सोमबार

पाटन

ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद् व्यवस्थापन र प्रतिकार्य योजनामा सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिका र बझाङको जयपृथ्वी नगरपालिका प्रमुखहरूले त्यस्तो बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा सुपर परियोजनाको समन्वयमा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी, भूमिका र पहलकदमीसम्बन्धी कार्यक्रममा उहाँहरूले त्यस्तो बताउनुभएको हो ।

कार्यक्रममा ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन महानगरले हरसम्भव प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले विपद्को समयमा खोज, राहत तथा उद्दार कार्यमा सूचना पाएको चार मिनेटमा आकस्मिक विपद् प्रतिकार्यगर्ने नीतिका साथ महानगरले काम गरिरहेको बताउनुभयो । महर्जनले सङ्घीय सरकार र प्रदेश सरकारले विपद् प्रतिकार्य अभ्यासमा पर्याप्त ध्यान दिननसकेको अवस्थामा महानगरले आफ्नो जिल्ला र उपत्यकाका छिमेकी स्थानीय तहहरुसँग सहकार्य गरेर यसकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । “विपद व्यवस्थापनका काममा कहिल्यै सन्तुष्ट हुन सकिँदैन तथापि महानगरले विपद्का समयमा जनशक्तिका साथै नयाँ प्रविधिको प्रयोग पनि आवश्यक हुँदोरहेछ भन्ने ध्येयले आवश्यक काम गरिरहेको छ । अहिले हामीले एउटै छानामुनि विपद् व्यवस्थापनका लागि आवश्यक सबै व्यवस्था गरेका छौँ र विपद् व्यवस्थापनमा दमकलसँगै एम्बुलेन्स खटाउने नीति पनि लागूगरिसकेका छौँ”,महर्जनले भन्नुभयो ।

विपद्मा परेकाहरूको सहयोग गर्नेमात्र नभई त्यस्ता कार्यमा खटिने कर्मचारीलाई पनि सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याउँदै महानगरले भूकम्पको जोखिमबाट बच्ने र उद्धार गर्ने विषयमा कर्मचारीलाई तालिम दिइसकेको र यस्ता कार्यमासुरक्षा निकायलगायत संघसंस्थाबाट सहयोगप्राप्त भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विपद् व्यवस्थापनका विषयमा ललितपुर महानगरबाट धेरै कुरा सिकेर आफ्नो पालिकामा पनि लागूगर्न सफलभएको बताउनुभयो । नगरप्रमुख हमालले ललितपुर महानगरबाट फोहर व्यवस्थापनदेखि विपद् व्यवस्थापनका क्षेत्रमा आफूले धेरै सिक्ने अवसर पाएको बताउनुभयो । “अरु पालिकामा जाँदा भव्य स्वागत त गर्नुहुन्छ तर आफ्ना असल अभ्यासबारे हामीलाई सिकाउँदैनन् । त्यसैले अरुले लुकाउँछन् तर ललितपुरले हामीलाई धेरै सिकाएको छ । त्यसमा पनि महानगर प्रमुखले हामीले यस्तो काम गरिरहेका छौँ तपाईँहरूले पनि लागूगर्दा राम्रै होला भनेरसुझाव दिनुहुन्छ । यसले हामीलाई सहज भएको छ”, हमालले भन्नुभयो ।
फोहरमैला र विपद् व्यवस्थापनका लागि आफ्नो नगरपालिकाले विद्यालयतह र समुदायस्तरमा सचेतनाका काम अगाडि बढाउँदा काम गर्न सहज भएको बताउनुभयो । उहाँले धनगढीमा प्लास्टिक बन्देज गरेको डेढवर्ष भइसकेको र सूर्तीजन्य पदार्थको नियमन पनि भइरहेको जानकारी गराउनुभयो ।

यस्तै, डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले स्थानीय तह अधिकारका हिसाबले सम्पन्न भए पनि आर्थिक स्रोतको अभावमा धेरै काम गर्न नसकिएको बताउनुभयो । उहाँले भूकम्पलगायत विपद् जोखिम न्यूनीकरणका लागि नगरले सचेतना अभिवृद्धिका काममा जोड दिइरहेको बताउनुभयो । “सुदूरपश्चिम भौगोलिक दृष्टिले भूकम्पको जोखिममा छ । पहाडी जिल्लामा मानवीय त्रुटिका कारण पनि बढी जोखिम छ । अहिले हामीले जोखिम न्यूनीकरणका लागि जनचेतना जगाउने कार्य गरिरहेका छौँ अब यहाँबाट सिकेका कुरालाई लागूगर्ने प्रयासमा लाग्ने छौँ”, जोशीले भन्नुभयो ।

बझाङको जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बरालले जिल्ला नै भूकम्प र बाढीको उच्च जोखिममा रहेकाले जतिबेला पनि जोखिममा पर्ने अवस्था रहेकाले सोहीअनुसार नगरले योजना बनाइरहेको बताउनुभयो । “विपद्का लागि भर्खरै ऐन पारित गरेका छौँ, त्यसको कार्यान्वयनका लागि धेरै काम गर्न बाँकी छ । राष्ट्रिय मापदण्डलाई आधार मानेर भवन निर्माणसंहिता लागूगर्ने तयारीमा छौँ” बरालले योजना सुनाउनुभयो ।

ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विपद् व्यवस्थापनमा ललितपुर महानगरले अन्तर्राष्ट्रिय अभ्यासहरूलाई प्रयोग गर्ने प्रयास गरिरहेको बताउनुभयो । “मन्त्रालयको प्रतिनिधिसहित तीनवटा पालिकाको भ्रमणले सिकाइ र असल अभ्यासको साटासाट गर्ने अवसर मिलेको छ । भूकम्पीय जोखिम रहेको जापानको अभ्यासबाट नागरिकलाई सचेत गराउनुपर्छ भन्ने अनुभूत गर्दै यहाँ पनि विपद् प्रतिकार्यको अभ्यासबारे सिकाउने प्रयास गरिएको छ”, शाक्यको भनाइ थियो । उहाँले प्राकृतिक विपत्ति र मानवनिर्मित विपत्तिबाट बच्न कोष खडा गर्ने र विपदजन्य समस्या समाधानलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गर्नुभयो ।

सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील बैद्यले समुदाय र विद्यालयस्तरमा सचेतना अभियानलाई केन्द्रमा राखेर मन्त्रालयले आवश्यक कार्य गरिरहेको बताउनुभयो । पछिल्लो समय प्रदेशस्तरमा विपद् व्यवस्थापन प्राधिकरण चाहिन्छ कि भन्ने बहस पनि चलिरहेको उहाँले जानकारी दिनुभयो ।

त्यसअवसरमा भूकम्प प्रविधि राष्ट्रिय समाज ९एनसेट० का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले महानगरपालिकाको प्रयास र अभ्यास राम्रो रहेको भन्दै विपद्का समयमा तालिमप्राप्त जनशक्तिका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विपद् प्रतिकार्यका लागि विकेन्द्रीकृत सेवा प्रवाहको कार्यनीति आवश्यक रहेकामा समेत जोड दिनुभयो ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका, अमरगढी नगरपालिका डडेल्धुरा र जयपृथ्वी नगरपालिका बझाङका नगरप्रमुख र विपद् सम्पर्क व्यक्ति, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिव र सम्बन्धित मन्त्रालयका विपद् सम्पर्क व्यक्तिको उपस्थिति रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित