अपाङ्गता भएका महिलाको न्यायमा पहुँच सम्वन्धी अध्ययन प्रतिवेदन सार्वजनिक 
अपाङ्गता भएका महिलाको न्यायमा पहुँच सम्वन्धी अध्ययन प्रतिवेदन सार्वजनिक 
    • बेल संचार

    • २५ कार्तिक २०८२, मंगलवार

राष्ट्रिय महिला आयोग र एक्सेस प्लानेटद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली र एक्सेस प्लानेटका अध्यक्ष गार्गी नेपाललगायतले अपाङ्गता भएका महिलाको न्यायमा पहुँच सम्वन्धी अध्ययन प्रतिवेदन “किनाराका आवाज” लोकार्पण गर्नुभएको हो ।

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिलाभित्र पनि अपाङ्गता भएका महिला बढि हिंसामा पर्ने र न्यायमा पहुँच नभएका कारण अन्यायमा परिरहेको बताउनुभयो ।
उहाँले देख्न, सुन्न नसक्ने वा बहुअपाङ्गता भएका महिला समाज तथा घरपरिवारभित्रै पनि असुरक्षित छन्, उहाँहरुमाथि यौनलगायत अन्य हिंसा गर्ने अपराधीलाई कारवाहीको दायरामा ल्याउन सबै मिलेर सचेतना फैलाउने र सहयोगी, जिम्मेवारपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोगका सचिव रेखा कँडेलले अपाङ्गता भएका महिलामाथिको न्यायमा पहुँचका लागि सरोकारवालासँगको समन्वय आवश्यक रहेको बताउनुभयो ।
प्रा.नीति अर्याल खनालले किनाराका आवाजहरुः (नेपालमा अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको स्थिति अनुसन्धान प्रतिवेदन)को अध्ययन गर्नुभएको हो ।
उहाँले महिलाभित्र पनि अधिकार, शिक्षा, अवसरलगायतका दृष्टिले पछि पारिएका अपाङ्गता भएका महिला घरभित्रका सदस्य तथा समाजका चिनेजानेका व्यक्तिहरुबाटै यौन हिंसामा परेर गर्भवती समेत हुने समस्या धेरै रहेको बताउनुभयो ।
उहाँले घरमा अपाङ्गता भएका परिवारका सदस्य हुनु भनेको गरिबी पनि थपिनु हो, भन्दै आर्थिक अभावसँगै जोडिएका विविध कारणले अपाङ्गता भएका महिला यौन हिंसामा पर्दा न्यायको पहुँचसम्म पुग्न भौतिक, सञ्चार र खर्च नहुँदा निक्कै कठिनाई हुने बताउनुभयो ।

उहाँले गण्डकी, कर्णाली, कोशी र मधेश प्रदेशमा गरिएको अध्ययनले परिवार, समुदाय, सार्वजनिक स्थल र कार्यलयहरुमा ७९ प्रतिसत अपाङ्गता भएका महिलाले विविध प्रकारका हिंसा भोगेको बताएका छन् ।
चार प्रदेशका १७४ जनाले सहभागिता जनाएको यस अध्ययनमा ७४ जनाले आफुमाथि अन्याय हुँदा न्याय पाउने प्रक्रिया थाह नभएको, ६८ जनाले न्यायको लागि जाँदा सम्वन्धीत ठाउँबाट सहयोग नपाएको, ४० जनाले आर्थिक अभावका कारण न्याय माग्न जान नसकेको र ४७ जनाले न्याय पाईन्छ भन्ने विश्वास नै नभएको बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

एक्सेस प्लानेटका अध्यक्ष गार्गी नेपालले अपाङ्गता भएका महिलाको न्यायमा पहुँचका लागि सरोकारवालाको सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
त्यसैगरी प्लानेटका कार्यकारी निर्देशक लक्ष्मी नेपालले शिक्षा, स्वास्थ्य, रोजगारीलगायत भौतिक र सञ्चारको समेत पहुँच नभएका अपाङ्गता महिलाको न्यायको पहुँचका लागि संस्थाले अध्ययन गरी तथ्याङ्कसहित वास्तविकता सार्वजनिक गरिएको बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित