मुगुकी गम्भीर घाइते महिलासहित दुई जनाको हेलिकप्टरबाट उद्धार
मुगुकी गम्भीर घाइते महिलासहित दुई जनाको हेलिकप्टरबाट उद्धार
    • तपेन्द्र ऐडी

    • ९ मंसिर २०८३, बुधबार

 मुगु ।

मुगुमा सुक्खा पहिरोमा परी गम्भीर घाइते भएकी पवित्रा जैसी पाण्डेसहित दुई महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

गम्भीर घाइते महिलालाई तत्काल उपचारको आवश्यकता रहेको जानकारी पाएपछि गृहमन्त्री सुधन गुरुङको पहलमा हेलिकप्टरको व्यवस्था गरी उद्धार गरिएको हो ।

दुर्गम भूगोल र पर्याप्त सडक पूर्वाधारको अभावका कारण घाइतेलाई समयमै अस्पताल पुर्‍याउन कठिन हुने अवस्था देखिएपछि हवाई उद्धारको व्यवस्था मिलाइएको बताइएको छ ।

उद्धार कार्यमा गृहमन्त्री गुरुङसँगै समाजसेवी अनिल बानियाँ, जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना तथा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. धनेन्द्र शाहीले समन्वय र सहजीकरण गरेका थिए

मुगुका विभिन्न सामाजिक तथा मानवीय समस्यामा सहयोग गर्दै आएका समाजसेवी बानियाँले यसपटक पनि घाइते महिलाको उद्धारका लागि आवश्यक पहल र समन्वय गरेका हुन् ।

कर्णालीका दुर्गम बस्तीमा सडक तथा स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा दुर्घटना र आकस्मिक बिरामीको उपचारमा समस्या हुँदै आएको छ । विशेषगरी गम्भीर प्रकृतिका बिरामीलाई समयमै सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउन कठिन हुने गरेको छ ।

दुई महिलाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पुर्‍याउने व्यवस्था मिलाइएपछि उनीहरूले थप उपचार पाउने बाटो खुलेको छ । यस घटनाले दुर्गम क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा र हवाई उद्धारको आवश्यकता पुनः उजागर गरेको छ ।

 

साताकाे चर्चित
सम्बन्धित