जुम्लामा श्रीमानकाे कुटपिटबाट श्रीमती गम्भीर घाइते, अस्पतालमा उपचार हुँदै
जुम्लामा श्रीमानकाे कुटपिटबाट श्रीमती गम्भीर घाइते, अस्पतालमा उपचार हुँदै
    • उमेश बुढा

    • ५ मंसिर २०८३, शनिबार

जुम्ला ।

जुम्लाको हिमा गाउँपालिका–७ मच्चीगाउँमा श्रीमानकाे  कुटपिटबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते कर्मकन्या हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचाररत छिन् ।

गत ३ गतेदेखि अस्पतालमा उपचार गराइरहेकी उनको मुख र कानमा गम्भीर चोट लागेको छ । पीडितका अनुसार २२ वर्षीय श्रीमान् उमेश त्रिरुवाले मादक पदार्थ सेवन गरी पटक–पटक कुटपिट गर्दै आएका थिए । पछिल्लो घटनामा उनको माथिल्लो ओठ चिरिएर दुई भाग भएको र कानबाट समेत रगत बगेको बताइएको छ । शरीरका अन्य भागमा पनि पुराना चोटका दाग रहेको पीडितको भनाइ छ ।

पीडितका दाइ सुनजित वडका अनुसार बहिनीले यसअघि पनि श्रीमानबाट पटक–पटक घरेलु हिंसा सहँदै आएकी थिइन् । घरबार बिग्रन नदिन र पारिवारिक सम्बन्ध सुधार हुने आशामा पटक–पटक मिलापत्र गराएर उनलाई श्रीमान्को घर पठाइएको भए पनि हिंसा नरोकिएको परिवारको भनाइ छ ।

‘पहिले पनि मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने गरेका थिए । बहिनीको घरबार राम्रो होस् भनेर मिलापत्र गराएर पठायौँ । तर यसपटक गम्भीर चोट लागेपछि उनलाई अस्पताल ल्याउनुपर्‍यो,’ दाइ सुनजितले बताए ।

पीडित परिवारले पछिल्लो घटनामा श्रीमान् उमेश त्रिरुवासँगै सासू धौली त्रिरुवाको समेत संलग्नता रहेको आरोप लगाएको छ । घटनालाई ज्यान मार्ने उद्योगसँग सम्बन्धित भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घटनामा आरोपित उमेश त्रिरुवालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिलापत्रले रोकिएन घरेलु हिंसा

यो घटनाले घरेलु हिंसाका पीडित महिलालाई सामाजिक दबाब र घरबार जोगाउने नाममा हिंसात्मक सम्बन्धमै बस्न बाध्य पार्ने प्रवृत्तिमाथि प्रश्न उठाएको छ ।

पटक–पटक हिंसा सहनु र मिलापत्रका नाममा पुनः त्यही वातावरणमा फर्कनुपर्ने बाध्यताले पीडितको सुरक्षा थप जोखिममा पार्न सक्छ । पारिवारिक विवाद वा मादक पदार्थ सेवनलाई हिंसाको औचित्य बनाउन मिल्दैन ।

पीडितको उपचार, सुरक्षा र न्याय सुनिश्चित गर्नु अहिलेको प्राथमिकता हो । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी ठहर हुनेमाथि कानुनअनुसार कारबाही हुन आवश्यक छ ।

साताकाे चर्चित
सम्बन्धित