काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल र जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल–जापान सम्बन्ध, पारस्परिक हित तथा साझा चासोका विषयमा छलफल भएको हो ।
भेटका क्रममा दुवै देशबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने र आपसी सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्ति जारी गर्दै भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिएका छन् ।
यसैबीच, जापानी उपमन्त्री फुजीले परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध तथा सहयोगका क्षेत्रलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
सो अवसरमा मन्त्री खनालले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जापान सरकारले तत्काल राहत तथा सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे । साथै, विपद्पछिको पुनर्निर्माणमा समेत सहयोग गर्ने तत्परता देखाएकोमा उनले जापान सरकारप्रति आभार प्रकट गरेका थिए ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौं महानगरपालिका र नेपालस्थित जापानी राजदूतावासको संयुक्त आयोजनामा दरबारमार्गमा नेपाल–जापान महोत्सव आयोजना हुँदैछ ।
उक्त महोत्सवमा सहभागी हुन जापानी उपमन्त्री फुजी दुईदिने नेपाल भ्रमणमा आएका हुन् ।