बुढु मष्टोको दर्शन गर्न भक्तजनको घुइँचो, मनोकामना पूरा हुने जनविश्वास
बुढु मष्टोको दर्शन गर्न भक्तजनको घुइँचो, मनोकामना पूरा हुने जनविश्वास
    • उमेश बुढा,

    • ३ मंसिर २०८३, बिहीबार

जुम्ला ।

कनकासुन्दरी गाउँपालिका–३ मा अवस्थित बुढु मष्टोको मन्दिरमा पूजाआजा तथा दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ। कार्तिक पूर्णिमाको अवसरमा बिहानैदेखि कर्णालीका विभिन्न जिल्लासहित देशका अन्य स्थानबाट आएका भक्तजन मन्दिरमा पूजा, भाकल र प्रसाद चढाउन पुगेका छन्।

बुढु मष्टोलाई कर्णाली क्षेत्रको रक्षक देवताका रूपमा श्रद्धा गर्ने परम्परा छ। मष्टाको दर्शन गरी मनोकामना राखेर भाकल गरे इच्छाएको काम पूरा हुने जनविश्वासका कारण यहाँ भक्तजन आउने गरेका छन्। विशेषगरी सन्तान प्राप्ति, रोगव्याधिबाट मुक्ति तथा जागिर र व्यापारमा सफलता मिल्ने आशासहित श्रद्धालुहरू मन्दिर पुग्ने गरेको डाङ्ग्री लालभक्त बुढाले बताए।

उनका अनुसार प्राचीन समयदेखि नै बुढु मष्टाप्रति आस्था राख्ने भक्तजन कर्णाली प्रदेशका सबै जिल्लालगायत देशका विभिन्न ठाउँबाट आउने गरेका छन्। भाकल पूरा भएपछि भक्तजनले कृतज्ञतास्वरूप घण्ट, ध्वजा, मासचामल तथा खसीबोका र घोडासमेत चढाउने परम्परा रहेको उनले जानकारी दिए।

पूजामा सहभागी हुन डोल्पाबाट आएकी रुपमाया रावतले गत वर्ष आफूले गरेको भाकल पूरा भएपछि यस वर्ष पुनः प्रसाद चढाउन आएको बताइन्। मष्टाको कृपाले सबैको कल्याण हुने विश्वास आफूमा रहेको उनको भनाइ छ।

बुढु मष्टाको विशेष पूजा कार्तिक, माघ र वैशाख पूर्णिमामा हुने गर्दछ। पूजाका क्रममा धामीझाँक्रीको नाच, घण्ट र शंखको ध्वनिले मन्दिर परिसरलाई थप भक्तिमय बनाएको छ। यस वर्ष कार्तिक पूर्णिमाको पूजा मंसिर ८ गते आयोजना गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित