दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य
    • बेल संचार

    • २७ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो ।

खेलको सुरुवात सुदूरपश्चिमका लागि निकै खराब रह्यो । तीन ओभर पूरा नहुँदै टोलीले मात्र ८ रन जोड्दा चार महत्वपूर्ण विकेट गुमाएको थियो । स्कट कुगेलेइन ६ रनमा आउट भए भने ब्रान्डन म्याकमुलेन र ईशान पाण्डेले खाता खोल्न सकेनन् । विनोद भण्डारी पनि सस्तैमा पेभेलियन फर्किए ।

सुरुवाती झट्कापछि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले टोलीको इनिङ्स सम्हाल्दै पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरे । १३औँ ओभरमा आरिफ २५ बलमा १६ रन बनाएर रन आउट भएपछि उक्त साझेदारी टुंगिएको थियो ।

कप्तान दीपेन्द्रले भने उत्कृष्ट ब्याटिङ गर्दै ५५ बलमा ५ चौका र २ छक्काको मद्दतले ६० रन बनाए । त्यस्तै, थारिन्दु रत्नायकेले अविजित २६ रनको योगदान दिए । उनले २३ बलमा ३ चौका प्रहार गरे ।

जारी प्रतियोगितामा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए । सुदूरपश्चिमका लागि यस खेलमा अर्धशतक बनाउने उनी एकमात्र ब्याट्सम्यान बने ।

काठमान्डुका बलर जहाँदाद खानले तीन विकेट लिए भने सन्तोष यादवले दुई विकेट हात पारे । सुरुवाती ओभरमा सुदूरपश्चिमलाई दबाबमा राखेको काठमान्डुले पावर प्लेपछि भने थप विकेट लिन सकेन ।

अब काठमान्डु गोर्खाजले जितका लागि १२६ रन बनाउनुपर्नेछ ।

साताकाे चर्चित
सम्बन्धित