काठमाडौं
कर्णालीको भूगोल, इतिहास, भाषा, संस्कृति र जनजीवनलाई कवितामार्फत अभिव्यक्त गर्दै आएका कवि राजेन्द्र धितालको नयाँ कविता सङ्ग्रह ‘प्रिय कर्णाली’ लक्ष्मीपूजाको अवसर पारेर विमर्शसहित सार्वजनिक गरिएको छ।
ललितपुरमा आयोजित कार्यक्रममा कर्णालीप्रति चासो राख्ने साहित्यकार, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सङ्ग्रहमाथि विमर्श गर्दै वक्ताहरूले कर्णालीको ऐतिहासिक विरासत, सामाजिक यथार्थ, सांस्कृतिक पहिचान र स्थानीय नागरिकले भोग्दै आएका जीवनका विविध पक्षमाथि चर्चा गरेका थिए।
कवि धितालले आफ्ना कवितामा कर्णालीको प्राकृतिक सुन्दरता मात्र नभई त्यहाँका नागरिकले भोग्दै आएका अभाव, दुःख, संघर्ष र परिवर्तनका आकाङ्क्षालाई समेत समेट्नुभएको छ। विकट बस्ती, प्राकृतिक स्रोतसम्पदा, रोग, भोक, आँसु र पसिनालाई कविताको विषय बनाउँदै उहाँले कर्णालीको जीवन्त चित्र प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ।
जुम्लामा जन्मिएर जीवनको अर्को चरण बर्दियामा बिताइरहनुभएका धितालको साहित्यिक सिर्जनामा कर्णालीसँगको भावनात्मक सम्बन्ध स्पष्ट देखिन्छ। शिक्षण पेसामा आबद्ध रहँदै साहित्य सिर्जनालाई निरन्तरता दिइरहनुभएका उहाँका दर्जनौँ कविता प्रकाशित छन्। बसाइँसराइपछि पनि जन्मभूमिको माटो, भाषा, संस्कृति र जनजीवनप्रतिको आत्मीयता उहाँका रचनामा प्रतिबिम्बित हुँदै आएको छ।
‘प्रिय कर्णाली’ सङ्ग्रहको एउटा महत्त्वपूर्ण पक्ष कर्णालीको विगत र वर्तमानलाई साहित्यिक माध्यमबाट जोड्ने प्रयास हो। कुनै समय नुन लिनकै लागि जुम्लाबाट बर्दियाको राजापुर तथा नेपालगन्जसम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता र त्यस क्रममा स्थानीयले भोगेका कठिनाइलाई सङ्ग्रहका कविताले स्मरण गराएका छन्। यसले कर्णालीवासीको अभावपूर्ण जीवन, संघर्ष र ऐतिहासिक यथार्थलाई नयाँ पुस्तासमक्ष पुर्याउने काम गरेको छ।
कर्णालीको जडीबुटी, प्राकृतिक सम्पदा र सांस्कृतिक विशिष्टतासमेत कविताका विषय बनेका छन्। विशेषगरी खस भाषा, इतिहास र सभ्यताको संरक्षण तथा प्रवर्द्धनप्रति कविको साहित्यिक चासो यस कृतिमा देख्न सकिन्छ।
साहित्यलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी समाजको यथार्थ बोल्ने र चेतना अभिवृद्धि गर्ने सशक्त माध्यमका रूपमा प्रयोग गर्दै आउनुभएका धितालको ‘प्रिय कर्णाली’ ले क्षेत्रीय पहिचान र राष्ट्रिय साहित्यबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
कर्णालीको प्रकृति, इतिहास, भाषा, संस्कृति र जनजीवनलाई समेटिएको यस सङ्ग्रहले कर्णालीलाई केवल भौगोलिक विकटताका आधारमा होइन, आफ्नै मौलिक सभ्यता, सम्भावना र गौरवशाली पहिचानका आधारमा बुझ्न नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास गरिएको छ।