मुगुको रिले टावरमा समस्या, हुम्लाका तीनसहित चार स्थानीय तहमा सञ्चार सेवा प्रभावित
मुगुको रिले टावरमा समस्या, हुम्लाका तीनसहित चार स्थानीय तहमा सञ्चार सेवा प्रभावित
    • बेल संचार

    • १९ कार्तिक २०८३, बुधबार

१८ कात्तिक, हुम्ला ।

मुगुको सोरु गाउँपालिका–१ नाथर्पुस्थित नेपाल टेलिकमको रिले टावरमा पटक–पटक समस्या आउँदा हुम्लाका तीन र मुगुको एक गरी चार स्थानीय तहका सेवाग्राही प्रभावित भएका छन्।

गत १ कात्तिकदेखि बिग्रिएको टावर मर्मतपछि पुनः सञ्चालनमा आएको थियो। तर, पाँच दिनमै फेरि समस्या देखिएपछि सम्बन्धित क्षेत्रका नागरिकले सञ्चार सेवामा कठिनाइ भोग्नुपरेको छ।

टावरमा आएको समस्याका कारण हुम्लाका चंखेली, सर्केगाड र अदानचुली गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकाका सेवाग्राही प्रभावित भएका हुन्।

चंखेली गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाहीले नेपाल टेलिकमको नेटवर्कमा बारम्बार समस्या दोहोरिँदा स्थानीयवासीको गुनासो बढ्दै गएको बताइन्।

यस्तै, सर्केगाड गाउँपालिका–१ जैर बेतालमा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेपछि गाउँपालिकाका विभिन्न स्थानमा सञ्चार सेवा अवरुद्ध भएको वडा सचिव पाण्डव बुढाले जानकारी दिए। टावरमा पटक–पटक समस्या आउँदा स्थानीयवासी सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ।

नेपाल टेलिकम हुम्लाकी प्रमुख रिन्जिन लामाका अनुसार मुगुको सोरुकोटस्थित रिले टावरमा समस्या देखिएको हो। समस्या समाधानका लागि प्राविधिक टोली खटिएर मर्मतको काम गरिरहेको उनले बताइन्।

साताकाे चर्चित
सम्बन्धित