मुगु ।
प्रधानमन्त्री बालेन्द्र शाहका स्वकीय सचिव प्रदीप परियार हेलिकप्टरमार्फत मुगु पुगेर रारामा एक रात बिताएपछि भोलिपल्टै सुर्खेत फर्किएका छन्। उनको छोटो भ्रमणको उद्देश्यबारे भने अहिलेसम्म सार्वजनिक रूपमा कुनै स्पष्ट जानकारी आएको छैन।
प्राप्त विवरणअनुसार कार्तिक २१ गते साँझ करिब ५ बजे परियार टोलीसहित हेलिकप्टर (9N-ALP) मार्फत मुगुस्थित गुल्म हेडक्वार्टरमा अवतरण गरेका थिए। त्यसपछि उनले रारामा रात बिताएका थिए।
भोलिपल्ट अर्थात् कार्तिक २२ गते बिहान १० बजेर १६ मिनेटमा उनी सोही हेलिकप्टरमार्फत सुर्खेततर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्रीका स्वकीय सचिवको हेलिकप्टर यात्रा, रारामा एक रातको बसाइ र लगत्तै सुर्खेत फिर्तीले स्थानीयस्तरमा विभिन्न जिज्ञासा उत्पन्न गरेको छ।
उनको मुगु भ्रमण व्यक्तिगत तथा पर्यटकीय प्रयोजनका लागि थियो वा कुनै सरकारी काम विशेषले भएको थियो भन्ने विषय खुलेको छैन। भ्रमणका क्रममा कुन उद्देश्यले रारा पुगेका थिए भन्नेबारे पनि आधिकारिक विवरण सार्वजनिक भएको छैन।
देशकै प्रमुख पर्यटकीय गन्तव्य रारामा उच्च सरकारी पदाधिकारीको भ्रमण हुनु सामान्य चासोको विषय भए पनि भ्रमणको प्रयोजन, हेलिकप्टर प्रयोगको आधार र त्यससँग सम्बन्धित व्यवस्थाबारे स्पष्ट जानकारी आवश्यक देखिएको छ।
यस विषयमा सम्बन्धित निकायले भ्रमणको उद्देश्य र हेलिकप्टर प्रयोगसम्बन्धी विवरण सार्वजनिक गरेमा उठेका जिज्ञासाहरू सम्बोधन हुनेछन्।
।