काठमाडौं ।
तिहारको मुख्य दिन लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यकामा फूलको किनबेच बढेको छ। आइतबार बिहानैदेखि उपत्यकाका विभिन्न बजार तथा तोकिएका बिक्री केन्द्रमा सयपत्री फूल खरिद गर्ने उपभोक्ताको चहलपहल देखिएको छ।
लक्ष्मीपूजाका दिन घर, पसल तथा व्यावसायिक प्रतिष्ठान सजाउन सयपत्री फूलको प्रयोग बढी हुने भएकाले यसको माग उच्च भएको हो। त्यस्तै, भाइटीकामा आवश्यक पर्ने मखमली फूलको व्यापारसमेत बढ्दै गएको छ।
काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूलको व्यवस्थित खरिदबिक्रीका लागि विभिन्न स्थान तोकेर बिक्री व्यवस्था मिलाएको छ। यसले बजारमा फूलको कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्ष तिहारमा देशभर करिब ६४ करोड ५० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ।
एसोसिएसनका अनुसार हाल नेपालमा ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक पुष्पखेती हुँदै आएको छ। यस क्षेत्रमा करिब ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ।
तिहारमा सयपत्री र मखमली फूलको माग उच्च हुने भएकाले यो पर्व पुष्प व्यवसायीका लागि वर्षकै महत्त्वपूर्ण व्यापारिक अवसरका रूपमा रहेको छ।