हिमामा कात्तिक २१ देखि पालिकास्तरीय भलिबल तथा सांस्कृतिक कार्यक्रम हुने
हिमामा कात्तिक २१ देखि पालिकास्तरीय भलिबल तथा सांस्कृतिक कार्यक्रम हुने
    • बेल संचार

    • १९ कार्तिक २०८३, बुधबार

जुम्ला ।

जुम्लाको हिमा गाउँपालिका–१ मा ‘वडाको लगानी, पालिकाभित्रका खेलाडी’ भन्ने मूल नारासहित पालिकास्तरीय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। वडा नं. १ को आयोजनामा कात्तिक २१ देखि २३ गतेसम्म देवारगाउँस्थित कालिका आधारभूत विद्यालयको प्राङ्गणमा कार्यक्रम सञ्चालन हुनेछ।

वडाध्यक्ष रतन बहादुर शाहीद्वारा जारी निमन्त्रणापत्रअनुसार युवामा खेलकुदको विकास, आपसी सद्भाव अभिवृद्धि तथा स्थानीय कला–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा वडाभित्र स्थायी बसोबास गर्ने सरकारी सेवामा स्थायी प्रवेश गरेका कर्मचारी तथा वडाको विकासमा विशेष योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ।

प्रतियोगिताअन्तर्गत पालिकास्तरीय खुला पुरुष तथा महिला भलिबल खेल सञ्चालन हुनेछन्। पुरुषतर्फ प्रथम हुने टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना स्थान हासिल गर्ने टोलीले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्।

महिलातर्फ प्रथम हुने टोलीलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो हुनेले आठ हजार, तेस्रो हुनेले चार हजार र सान्त्वना स्थान हासिल गर्ने टोलीले दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन्।

पुरुष भलिबलतर्फ टोली दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको छ भने महिलातर्फ दर्ता निःशुल्क छ। टोली दर्ताको अन्तिम समय कात्तिक २० गते साँझ ६ बजेसम्म तोकिएको छ। प्रतियोगितामा एउटा वडाका खेलाडीले अर्को वडाको टोलीबाट खेल्न पाउने छैनन्।

कार्यक्रममा स्थानीय देउडा खेल तथा विविध सांस्कृतिक प्रस्तुति पनि रहनेछन्। आयोजकले हिमा गाउँपालिकाका सातै वडालाई पत्राचार गर्दै टोली दर्ता तथा सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।

ग्यालेक्सी युनियन जुम्लाको सहजीकरणमा हुने कार्यक्रमको समन्वय वडा सदस्य पूर्ण बहादुर शाहीले गर्नेछन्। आयोजकको पोस्टरअनुसार खेल कात्तिक २१ गते बिहान ११ बजेदेखि सुरु हुनेछ।

साताकाे चर्चित
सम्बन्धित