जुम्ला ।
क्षमताभन्दा बढी लोडले दुर्घटनाको जोखिम हुने र यात्रुहरुले बाटाेमा सास्ती बाेक्नु परेकाे छ ।
जुम्लाबाट सुर्खेत, नेपालगञ्ज हुँदै बाहिर जाने सार्वजनिक सवारी साधनहरुमा क्षमताभन्दा बढी सामान लोड गर्ने क्रम बढेको छ ।
जुम्ला बसपार्क , नराकाेट र गाेगिज्युलाबाट छुट्ने बस तथा जीपहरुको हुडमा स्याउका कार्टुन, खाद्यान्नका बोरा र घरायसी सामान भरिभराउ गरी बाँधिएको देखिन्छ। सिट क्षमताभन्दा बढी सामान बोक्दा सवारीको सन्तुलन बिग्रने र दुर्घटनाको जोखिम बढ्ने गरेको छ ।
यात्रुहरुका अनुसार यातायात समितिले यात्रुबाट पूरा भाडा असुलेर पनि चालकले सामानबाट अतिरिक्त पैसा लिने गरेका छन्। “माथि हुडमा यति सामान छ कि गाडी पल्टिएला जस्तो हुन्छ, भित्र पनि खुट्टा राख्ने ठाउँ हुँदैन,” एक यात्रुले गुनासो गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्ला लगायत विभिन्न ठाउँमा चेकजाँच भइरहेको बताए पनि नियमित अनुगमन नहुँदा व्यवसायीले अटेर गरेको स्थानीयको आरोप छ ।
यात्रुहरुले तत्काल अनुगमन कडा गरी यात्रुमैत्री सेवा दिन प्रशासनसँग माग गरेका छन् ।