काग तिहारमा कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
काग तिहारमा कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
    • बेल संचार

    • २२ कार्तिक २०८३, शनिबार

काठमाडौँ ।

काग तिहारका अवसरमा काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा रहेको कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागेश्वरी मन्दिर पुगेर पूजा तथा दर्शन गर्ने परम्पराअनुसार श्रद्धालुहरू त्यहाँ पुगेका हुन्।

धार्मिक मान्यताअनुसार कागेश्वरी मन्दिरमा पूजा–आराधना गरी दर्शन गरे कागको कृपा र सहयोग प्राप्त हुने विश्वास गरिन्छ। त्यसैले प्रत्येक वर्ष कागे अष्टमी र काग तिहारका दिन यस मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ।

मन्दिर परिसरमा रहेको कागको विशाल मूर्ति धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। पित्तलसहित अष्टधातुबाट निर्मित २२७ किलोको कागको मूर्तिले दर्शनार्थीलाई आकर्षित गर्दै आएको छ। यस्तै, मन्दिरमाथिको सहिद उद्यानमा निर्माण गरिएको एक हजार किलोको अष्टधातुबाट बनेको कागको मूर्तिलाई नेपालकै ठूलो तथा विश्वकै विशाल कागका मूर्तिमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ।

काग तिहारका अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिर र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि पूजा तथा आराधना गर्ने भक्तजनको भीड लागेको छ।

काग तिहारमा कागलाई यमराजको सन्देशवाहकका रूपमा मान्दै घरघरमा मीठा खानेकुरा दिएर सम्मान गर्ने चलन छ। यस दिन कागलाई खाना खुवाउँदा शुभ हुने धार्मिक विश्वाससमेत रहिआएको छ।

साताकाे चर्चित
सम्बन्धित